
काठमाडौं ।
जापानले दुर्लभ पृथ्वी तत्त्व (रेयर अर्थ) उत्खननको सम्भावना मूल्याङ्कन गर्न यस गर्मीयाममा ग्रिनल्यान्डमा एक प्रतिनिधिमण्डल पठाउने तयारी गरिरहेको छ। जापानी समाचार संस्था निक्केईले आइतबार यो जानकारी दिएको हो।
निक्केईका अनुसार उक्त भ्रमणमा जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयका अधिकारीहरू, व्यापारिक कम्पनीहरू तथा जापान अर्गनाइजेसन फर मेटल्स एन्ड इनर्जी सेक्युरिटीका प्रतिनिधिहरू सहभागी हुनेछन्। उनीहरूले स्थानीय सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन्।
डेनमार्क राज्यअन्तर्गतको स्वायत्त क्षेत्र आर्कटिक टापु ग्रिनल्यान्ड पछिल्लो समय चर्चामा रहेको छ। जनवरीमा ह्वाइट हाउसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त टापु कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा विचार गरिरहेको जनाएको थियो, जसले युरोपका नेटो सहयोगी देशहरूमा चिन्ता बढाएको थियो। त्यसयता यस विषयमा कूटनीतिक तहमा छलफल भइरहेको रोयटर्सले उल्लेख गरेको छ।
ग्रीनल्यान्ड यसको रणनीतिक अवस्थिति र सम्भावित रूपमा प्रशस्त दुर्लभ पृथ्वी तत्त्वको भण्डारका कारण चासोको केन्द्रमा रहेको छ।
प्रकाशित: ३१ जेष्ठ २०८३, आईतवार