
काठमाडौं ।
मेटाका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्ग ले कम्पनीले एआई केन्द्रित कार्यबल रूपान्तरणका क्रममा केही त्रुटि गरेको बताएका छन्। रायटर्सले हेरेको एक आन्तरिक ज्ञापनमा उनले यस्तो बताएका हुन्।
जुकरबर्गले कम्पनीको संरचना एआई वरिपरि पुनःगठन गर्न सयौं अर्ब डलर लगानी गरिरहेका छन्। यो प्रवृत्ति विशेषगरी अमेरिकी प्रविधि कम्पनीहरूमा यस वर्ष व्यापक रूपमा देखिएको छ।
ज्ञापनमा उनले एआईको तीव्र प्रगति र त्यसले ल्याएका चुनौतीबारे उल्लेख गरेका छन्।
“मानिसहरूका लागि नयाँ महत्त्वपूर्ण भूमिका सिर्जना गर्दा हामीले केही टोलीहरूको आकार घटाउन सक्यौं, किनकि कतै त्रुटि भएमा केही कर्मचारीलाई फेरि अन्य भूमिकामा सार्न सकिने सोच थियो,” जुकरबर्गले भनेका छन्।
मेटाले उक्त ज्ञापनबारे टिप्पणी गर्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ।
जुकरबर्गका अनुसार कम्पनीले टोली निर्माणसम्बन्धी कार्यक्रमहरूमा लगानी बढाउने योजना बनाएको छ। यसअन्तर्गत अफसाइट कार्यक्रम र कर्पोरेट इभेन्टका लागि बजेट बढाइनेछ र जुलाईमा ठूलो स्तरको ह्याकाथन आयोजना गरिनेछ, जसले विभिन्न टोलीबीच सहकार्य र नयाँ एआई मोडेल विकासलाई प्रोत्साहन गर्नेछ।
उनले व्यवस्थापकहरूको जिम्मेवारी अत्यधिक बढाइएको भन्ने चिन्तालाई पनि कम्पनीले ध्यान दिएको र अब यस्तो अभ्यास घटाउने योजना बनाएको बताएका छन्।
रिपोर्टअनुसार मेटाको नयाँ एप्लाइड एआई इन्जिनीयरिङ इकाइमा व्यवस्थापकको तुलनामा व्यक्तिगत योगदानकर्ताको अनुपात ५०:१ सम्म पुगेको थियो।
“यी परिवर्तनहरू जटिल भएकाले हामीले त्रुटि गरेका छौं र सम्भवतः अझै पनि हुनेछ,” जुकरबर्गले भने। “तर आगामी संगठनात्मक परिवर्तनमा सकेसम्म स्थायित्व दिने कुरामा म केन्द्रित छु।”
उनले थपे, “म धेरै आश्वासन दिन चाहन्नँ, किनकि संसार हाम्रो नियन्त्रणभन्दा बाहिरका तरिकाले बदलिँदै छ।” साथै, उनले यस वर्ष कम्पनीव्यापी थप कर्मचारी कटौती नहुने अपेक्षा रहेको दोहोर्याए।
जुकरबर्गले एआई मोडेल प्रशिक्षणसँग सम्बन्धित नयाँ भूमिकामा पुनःनियुक्त गरिएका कर्मचारीका लागि कम्पनीले अन्य अवसर खोज्ने प्रयास गर्ने पनि बताएका छन्। मेटाले मे महिनामा ठूलो पुनर्संरचना गर्दै विश्वभरका करिब १० प्रतिशत कर्मचारी कटौती गरेको थियो र ७,००० कर्मचारीलाई एआई कार्यप्रवाहसँग सम्बन्धित नयाँ परियोजनामा स्थानान्तरण गरेको थियो।
प्रकाशित: ३१ जेष्ठ २०८३, आईतवार