
काठमाडौं ।
कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी तीव्र रूपमा बढिरहेका बेला चीनसँग सम्बन्धित ह्याकरहरूले पछिल्लो एक वर्षमा प्रविधि कम्पनीहरूका लागि सबैभन्दा ठूलो जासुसी खतरा सिर्जना गरेको साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले मंगलबार सार्वजनिक गरेको एक प्रतिवेदनमा जनाएको छ।
कम्पनीका अनुसार यी ह्याकिङ अभियानहरू चिनियाँ सरकारका रणनीतिक प्राथमिकतासँग मेल खान्छन् र प्रविधि विकास, बौद्धिक सम्पत्ति तथा रणनीतिक र आर्थिक महत्वका सूचनाप्रति चीनको निरन्तर चासोलाई प्रतिबिम्बित गर्छन्।
प्रतिवेदनले विदेशी सरकार र साइबर अपराधी दुवैबाट सबैभन्दा बढी निशानामा परेको क्षेत्र फेरि पनि प्रविधि उद्योग नै रहेको देखाएको छ। यसमा कम्प्युटर हार्डवेयर, सूचना प्रविधि सेवा, परामर्श, सेमिकन्डक्टर तथा सफ्टवेयर विकास र वितरण गर्ने कम्पनीहरूमाथिका खतराहरू समेटिएका छन्। यद्यपि क्राउडस्ट्राइकले लक्षित कम्पनीहरूको नाम सार्वजनिक गरेको छैन।
वासिङ्टनस्थित चिनियाँ दूतावासले भने उक्त प्रतिवेदनलाई अस्वीकार गरेको छ।
रोयटर्सका अनुसार सन् २०२५ अप्रिल १ देखि २०२६ मार्च ३१ सम्मको अध्ययनमा आधारित निष्कर्षहरू एआई क्षेत्रमा कार्यरत कम्पनीहरूको मूल्यांकन र लगानी तीव्र रूपमा बढिरहेका बेला सार्वजनिक भएका हुन्। क्राउडस्ट्राइकका वरिष्ठ उपाध्यक्ष तथा काउन्टर एड्भर्सरी अपरेसन प्रमुख एडम मेयर्सका अनुसार यस्ता कम्पनीहरू उच्च मूल्यका लक्ष्य बनेका छन्।
अप्रिल २३ मा ह्वाइट हाउसको विज्ञान तथा प्रविधि नीति कार्यालयले चीनमा आधारित निकायहरूले अमेरिकी एआई मोडेलहरूलाई गोप्य रूपमा नक्कल गर्न “सुनियोजित र औद्योगिक स्तरका अभियान” सञ्चालन गरेको आरोप लगाएको थियो।
मेयर्सले भने, “अमेरिका र चीनबीच एआई क्षेत्रमा प्रतिस्पर्धा चलिरहेको छ र चीनले सन् २०३० सम्म विश्वव्यापी प्रभुत्व हासिल गर्ने लक्ष्य राखेको छ।” उनका अनुसार ठूला एआई अनुसन्धान प्रयोगशालादेखि साना विशेष क्षेत्रका मोडेल विकासकर्तासम्म जोखिममा छन्।
वासिङ्टनस्थित चिनियाँ दूतावासका एक प्रवक्ताले “चीन ह्याकिङ गतिविधिको विरोध गर्छ र कानुनअनुसार त्यस्ता गतिविधिविरुद्ध कारबाही गर्छ” भन्दै साइबर सुरक्षाको नाममा गरिने “बदनाम र आरोपहरू” अस्वीकार गरेको बताए। उनले एआई विकास र नियमनमा चीन र अमेरिकाले सहकार्य गर्नुपर्ने पनि उल्लेख गरे।
प्रतिवेदनमा उत्तर कोरियासम्बद्ध ह्याकिङ अभियानलाई पनि ठूलो खतरा भनिएको छ। विशेष गरी उत्तर कोरियाली अपरेटिभहरूले नक्कली परिचय प्रयोग गरेर प्रविधि कम्पनीहरूमा परबाट आईटी जागिर हासिल गर्ने योजना उल्लेख गरिएको छ। उनीहरूले प्राप्त गर्ने तलबको ठूलो हिस्सा प्योङयाङ सरकारतर्फ जाने र कम्पनीभित्रको पहुँचबाट गोप्य सूचना संकलन गर्ने आधार तयार हुने बताइएको छ।
रुस तथा इरानसँग सम्बन्धित ह्याकिङ समूहहरूले पनि अमेरिका र अन्य देशका प्रविधि क्षेत्रलाई सूचना संकलन तथा कहिलेकाहीँ विनाशकारी मालवेयर आक्रमणका लागि निशाना बनाउने गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यसैगरी आर्थिक लाभका लागि सक्रिय साइबर अपराधी समूहहरूको गतिविधि पनि बढेको पाइएको छ। प्रतिवेदनअनुसार विभिन्न लक्ष्यमा पहुँच बिक्री गर्ने ह्याकरहरूको विज्ञापनमा सोही अवधिमा ३० प्रतिशत वृद्धि भएको छ।
प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार