ईयूटेलस्याट र फिनल्यान्डको भोइमाटेलबीच फिनल्यान्डमा लियो कनेक्टिभिटी सेवा उपलब्ध गराउने सम्झौता

  • Technology Khabar | २७ जेष्ठ २०८३, बुधबार
ईयूटेलस्याट र फिनल्यान्डको भोइमाटेलबीच फिनल्यान्डमा लियो कनेक्टिभिटी सेवा उपलब्ध गराउने सम्झौता

काठमाडौं ।

स्याटेलाइट सञ्चार सेवा प्रदायक ईयूटेलस्याट र फिनल्यान्डको भोइमाटेल बीच फिनल्यान्डमा लो अर्थ अर्बिट (लियो) कनेक्टिभिटी सेवा उपलब्ध गराउने सम्झौता भएको छ।

यो सम्झौताअन्तर्गत भोइमाटेल ले ईयूटेलस्याटका लियो कनेक्टिभिटी सेवाहरूलाई आफ्ना विद्यमान नेटवर्क समाधानहरूसँग एकीकृत गर्नेछ। उपग्रह र स्थलीय कनेक्टिभिटीलाई संयोजन गरेर महत्वपूर्ण नेटवर्क पूर्वाधारलाई समर्थन गरिने बताइएको छ।

यसले शहरी, ग्रामीण तथा दुर्गम क्षेत्रका उद्यम तथा सार्वजनिक क्षेत्रका ग्राहकहरूलाई भरपर्दो र वैकल्पिक सञ्चार सेवा प्रदान गर्ने कम्पनीहरूको दाबी छ।

ईयूटेलस्याटको वनवेब लियो सेवा प्रयोग गरेर भोइमाटेल ले उच्च उत्तरी अक्षांश तथा आर्कटिक क्षेत्रसम्म कनेक्टिभिटी विस्तार गर्ने योजना बनाएको छ, जहाँ स्थलीय नेटवर्कको पहुँच सीमित हुन सक्छ। भोइमाटेल ले फिनल्यान्डका दूरसञ्चार सेवा प्रदायक, उपयोगिता कम्पनी तथा सार्वजनिक संस्थाहरूका लागि स्थिर र वायरलेस सञ्चार नेटवर्कको डिजाइन तथा सञ्चालन गर्दै आएको छ।

ईयूटेलस्याटको कनेक्टसभिटी बिजनेस यूनिटकी अध्यक्ष इभा बिस्गार्डले महत्वपूर्ण दूरसञ्चार पूर्वाधारलाई समर्थन गर्न लियो कनेक्टिभिटीको भूमिका बढ्दै गएको बताइन्। उपग्रह र स्थलीय नेटवर्कलाई संयोजन गर्दा सञ्चार सेवाको पहुँच र विश्वसनीयता सुदृढ हुने तथा आर्कटिक क्षेत्रजस्ता स्थानमा भरपर्दो कनेक्टिभिटी सुनिश्चित गर्न मद्दत पुग्ने उनको भनाइ छ।

टेलिकम्स डटकमका अनुसार भोइमाटेलका प्रमुख कार्यकारी अधिकृत मिक्को हेइनोनेनले ईयूटेलस्याटका लियो सेवाले फिनल्यान्डभरका दूरसञ्चार तथा डाटा नेटवर्क ग्राहकलाई सहयोग गर्ने कम्पनीको क्षमता थप बलियो बनाउने बताए।

कम विलम्बता भएको उपग्रह कनेक्टिभिटी र आर्कटिक क्षेत्रसम्मको पहुँचले कम्पनीको विद्यमान पूर्वाधारलाई पूरक भूमिका खेल्ने र ग्राहकहरूको बदलिँदो कनेक्टिभिटी आवश्यकतालाई सम्बोधन गर्ने उनले बताए।

गत साता ईयूटेलस्याटले विश्वव्यापी समुद्री ग्राहकहरूलाई लियो कनेक्टिभिटी उपलब्ध गराउन टोटोथियो ग्लोबलसँग साझेदारी गरेको थियो। उक्त सम्झौतामा उपग्रह सञ्चारका साथै ग्रीस र साइप्रसमा उद्यम, नागरिक तथा सैन्य सरकारी ग्राहकहरूलाई कनेक्टिभिटी सेवा प्रदान गर्ने व्यवस्था पनि समावेश छ।

गत वर्ष ईयूटेलस्याटले फ्रान्सेली सेनासँग १ अर्ब युरोसम्म मूल्यको सम्झौता पनि गरेको थियो। यो सम्झौताले NEXUS कार्यक्रमलाई समर्थन गर्छ, जुन फ्रान्सको रक्षा मन्त्रालयले सैन्य तथा नागरिक स्रोतलाई संयोजन गरेर सैन्य अन्तरिक्ष सञ्चार क्षमता सुदृढ गर्न सुरु गरेको हो।

उक्त सम्झौतलाई नेक्सस परियोजनाको पहिलो ठोस कदमका रूपमा वर्णन गरिएको थियो। फ्रान्सेली रक्षा खरिद निकायले ईयूटेलस्याटसँग १० वर्षे रूपरेखा सम्झौता गरेको छ, जसअन्तर्गत ईयूटेलस्याटको वनवेब लियो उपग्रह समूहको क्षमता सहित प्राथमिक पहुँच भएका अन्तरिक्ष स्रोतहरू उपलब्ध गराइनेछ।

प्रकाशित: २७ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार