क्राउडस्ट्राइकले एआई रणनीतिका बाबजुद आम्दानी वृद्धि दरले लगानीकर्तालाई प्रभावित गर्न नसकेपछि…

  • Technology Khabar | २२ जेष्ठ २०८३, शुक्रबार
क्राउडस्ट्राइकले एआई रणनीतिका बाबजुद आम्दानी वृद्धि दरले लगानीकर्तालाई प्रभावित गर्न नसकेपछि…

काठमाडौं ।

क्राउडस्ट्राइकको एआई रणनीतिका बाबजुद आम्दानी वृद्धि दरले लगानीकर्तालाई प्रभावित गर्न नसकेपछि कम्पनीको सेयर मूल्य घटेको छ।

साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकको सेयर बिहीबार प्रि–मार्केट कारोबारमा ११ प्रतिशतले घट्यो। कम्पनीको वार्षिक आवर्ती आम्दानी (एआरआर) वृद्धि दरले एआईमा गरिएको लगानीबाट थप लाभको अपेक्षा गरेका लगानीकर्तालाई सन्तुष्ट पार्न नसकेको कारण सेयरमा गिरावट आएको हो।

मे महिनामा कम्पनीको सेयर ६० प्रतिशतले बढेको थियो।

क्राउडस्ट्राइकको एआरआर वार्षिक आधारमा २२ प्रतिशतले बढेर ४.४४ अर्ब डलर पुगेको छ। यसमध्ये पहिलो त्रैमासिकमा १९ करोड ३८ लाख डलर बराबरको नयाँ एआरआर थपिएको थियो।

मोर्गन स्ट्यान्लीका विश्लेषकहरूले यस त्रैमासिकमा अपेक्षाभन्दा कम नयाँ एआरआर थपिएको र पछिल्लो एक महिनामा सेयर ६० प्रतिशतले बढेपछि अपेक्षा धेरै उच्च बनेको कारण सेयर बिक्री बढेको बताएका छन्। क्राउडस्ट्राइक र पालो अल्टोजस्ता साइबर सुरक्षा कम्पनीहरूले एआई आधारित साइबर सुरक्षा उत्पादनमा कम्पनीहरूको खर्च बढेकाले लाभ उठाएका छन्, यद्यपि सफ्टवेयर उद्योगमा एआईको प्रभावबारे चिन्ता अझै कायम छ।

रोयटर्सका अनुसार पालो अल्टोको सेयर पनि करिब ३ प्रतिशतले घट्यो।

क्राउडस्ट्राइकले फाल्कन डाटा सेकक्युरिटी र चार्लोट एआई एजेन्टवर्क्स इकोसिस्टमजस्ता नयाँ एआई सेवाहरू सार्वजनिक गर्दै एआईमा ठूलो लगानी गरेको छ। चार्लोट एआई एजेन्टवर्क्स इकोसिस्टम, एडब्लूएस, एनभिडिया र ओपनएआईसँग मिलेर विकास गरिएको नो–कोड प्लेटफर्म हो।

एआईमा गरिएको ठूलो लगानीका कारण कम्पनीको त्रैमासिक कुल सञ्चालन खर्च १५ प्रतिशतले बढेर १.०७ अर्ब डलर पुगेको छ। एक वर्षअघि यही खर्च ९३ करोड ४३ लाख डलर थियो। यसको विपरीत पालो अल्टोले यसै साता साइबर सुरक्षा सेवाको बलियो मागका कारण आफ्नो वार्षिक नाफा अनुमान बढाएको थियो। छोटो अवधिको गिरावटका बाबजुद विश्लेषकहरू क्राउडस्ट्राइकको दीर्घकालीन वृद्धिप्रति आशावादी छन्।

मोर्गन स्ट्यान्लीका अनुसार हालैको तीव्र सेयर वृद्धिपछि छोटो अवधिका अपेक्षा केही बढी हुनसक्छन्, तर सन् २०२७ सम्म एआरआर वृद्धिदर तीव्र रहने विश्वास बढ्दै गएसँगै कम्पनीको मूल्यांकन अझ विस्तार हुने सम्भावना रहेको छ।

एलएसईजीको तथ्यांकअनुसार क्राउडस्ट्राइकको सेयर आगामी १२ महिनाको अनुमानित आम्दानीको १३७.८१ गुणामा कारोबार भइरहेको छ। यो पालो अल्टोको ६८.९१ गुणा र ओक्टाको ३१.०३ गुणाभन्दा धेरै उच्च हो।

प्रकाशित: २२ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार