
काठमाडौं ।
चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडीले आफ्नो सेल्फ-ड्राइभिङ प्रविधिप्रति विश्वास देखाउँदै प्रयोगकर्तालाई विशेष सुरक्षा ग्यारेन्टी दिने घोषणा गरेको छ।
कम्पनीले गत साता स्मार्ट ड्राइभिङ चिपसम्बन्धी नयाँ विकास सार्वजनिक गर्ने क्रममा नवीनतम भने गड्स आई ५.० ड्राइभर सहायता प्रणालीमा रहेको अर्बन नेभिगेट अन अटोपाइलट फिचर प्रयोग गर्दा दुर्घटना भए सम्पूर्ण क्षति व्यहोर्ने जनाएको हो। यो सुविधा हाल चीनमा रहेका बीवाईडी सवारीधनीका लागि मात्र उपलब्ध छ।
बीवाईडीका अनुसार चालकले सबै नियमको पालना गर्दै अर्बन नेभिगेट अन अटोपाइलट फिचर प्रयोग गरिरहेको अवस्थामा दुर्घटना भए र त्यसमा चालकको गल्ती देखिए पनि कम्पनीले त्यसबाट हुने सबै आर्थिक क्षति प्रत्यक्ष रूपमा व्यहोर्नेछ।
इलेक्ट्रेकको रिपोर्टअनुसार यो ग्यारेन्टीअन्तर्गत सवारी मर्मत खर्च, तेस्रो पक्षको सम्पत्तिमा भएको क्षति तथा व्यक्तिगत चोटपटकसँग सम्बन्धित खर्चसमेत समावेश हुनेछ। साथै, यसका लागि छुट्टै बीमा गर्नुपर्ने छैन, क्षतिपूर्ति रकमको कुनै सीमा तोकिएको छैन र यसले बीमा प्रिमियम पनि बढाउने छैन।
इन्ग्याजेटका अनुसार बीवाईडीले नयाँ ग्राहकका लागि यो सुविधा सवारी हस्तान्तरण भएको मितिदेखि एक वर्षसम्म लागू हुने जनाएको छ। हालका ग्राहकले भने गड्स आई ५.० प्रणालीमा अपग्रेड गरेपछि यो सुविधा पाउनेछन्।
यसअघि पनि बीवाईडीले आफ्नो गड्स आई प्रविधिअन्तर्गत रहेको इन्टेलिजेन्ट पार्किङ फिचर प्रयोग गर्दा हुने दुर्घटनाको क्षति व्यहोर्ने यस्तै प्रकारको ग्यारेन्टी दिएको थियो।
हाल यो सुविधा चीनका ग्राहक र एक वर्षको अवधिमा मात्र सीमित भए पनि बीवाईडी आफ्नो प्रविधिप्रति निकै विश्वस्त रहेको देखिन्छ। अर्कोतर्फ टेस्ला भने आफ्नो सेल्फ-ड्राइभिङ प्रविधिसम्बन्धी मुद्दाहरूको सामना गरिरहेको छ र कम्पनीले आफ्ना केही सेल्फ-ड्राइभिङ फिचरका नामसमेत परिवर्तन गर्नुपरेको छ।
प्रकाशित: २० जेष्ठ २०८३, बुधबार