
काठमाडौं ।
नेपाली विद्यार्थी तथा नवप्रवर्तनकर्ताहरूले एआई, रोबोटिक्स, आईओटी र कोडिङमा आफ्नो क्षमता उत्कृष्ट रूपमा प्रस्तुत गर्दै कोडएभर ७.० मा उल्लेखनीय सफलता हासिल गरेका छन्। गत हप्ता सम्पन्न दुई दिने प्रतियोगितामा नेपालका ६ टोलीले विभिन्न श्रेणीका पुरस्कार जित्दै देशको स्टेम (एसटीईएम) शिक्षा र प्रविधि नवप्रवर्तनमा बढ्दो सम्भावनालाई उजागर गरेको उल्लेख गरिएको छ।
प्रतियोगितामा स्किल्सअप ग्लोबल, उथान रोबोटिक्स ल्याब र बियोन्ड एपोजीका साथै एशिया प्यासिफिक स्कुल, काठमाडौं न्यू क्यासल स्कुल, लालिगुराँस नेशनल एकेडेमी, रिलायन्स पब्लिक स्कुल, बागमती स्कुल, बुढानीलकण्ठ स्कुल, काठमाडौं भ्याली स्कुल एन्ड कलेज, मोरङ पाथिभरा स्कुल, ज्ञानोदय बालबाटिका स्कुल, सेन्ट जोसेफ्स सेकेन्डरी स्कुल र डेजी इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलका विद्यार्थीहरू सहभागी थिए।
उनीहरूका परियोजनाले स्वास्थ्य, वातावरण, कृषि, सहायक प्रविधि र दिगोपनसँग सम्बन्धित व्यावहारिक समस्या समाधानमा केन्द्रित नवीन सोच प्रस्तुत गरेका थिए।
हालको संस्करणमा पुरस्कार जित्ने टोलीहरूका टोली नेतृत्व क्रमशः प्रशन्न के.सी., सभ्यता उपरकोटी, शिवांश रावल, रिवाज मकाजू, प्रनभ जंग अधिकारी र गुन्जन शर्मा कर्णले गरेका थिए। यो उपलब्धिले नेपाली विद्यार्थीहरूले केवल प्रतिस्पर्धामा भाग लिनेमात्र नभइ अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी समाधान प्रस्तुत गर्न सक्ने स्तरमा पुगेको सन्देश दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्पार्क सिङ्कका प्रशन्न के.सी., रोहन शाह र प्रभव नाथ उप्रेतीले तयार पारेको “स्पार्की बडी” परियोजनाले कन्सोलेसन प्राइज (जुनियर समूह) प्राप्त गरेको छ। यो एआई–सञ्चालित एडीएचडी सहायक रोबोटले बालबालिकालाई ध्यान केन्द्रित गर्न, भावना व्यवस्थापन गर्न, औषधि सम्झाउन र दैनिक दिनचर्या पालना गर्न सहयोग पुर्याउनेछ। एडीएचडी भएका बालबालिकाले सामना गर्ने ध्यान विचलन, तनाव र सामाजिक चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले यो परियोजना विकास गरिएको बताइएको छ।
एनपी_पेडकी सभ्यता उप्रेती, प्राञ्जल अधिकारी र लनि गुरुङले प्रस्तुत गरेको “कार्बन क्यास्केड” परियोजनाले गल्र्स इन स्टेम अवार्ड प्राप्त गरेको छ। यो वातावरणमैत्री परियोजनाले चुलोबाट निस्कने धुवाँ प्रदूषण घटाउने तथा सङ्कलित कार्बन डाइअक्साइडलाई कृषि क्षेत्रमा पुनःप्रयोग गर्ने लक्ष्य राख्दछ। भित्री वायु प्रदूषण, हानिकारक उत्सर्जन र दिगो खेतीसँग सम्बन्धित चुनौती समाधान गर्न यो समाधान उपयोगी हुने अपेक्षा गरिएको छ।
सेवा टेकका शिवांश रावल, अनिस प्याकुरेल र युनिक विक्रम महर्जनले विकास गरेको “ओम्नी” परियोजनाले टेक फर एक्सलन्स अवार्ड प्राप्त गरेको छ। यो स्मार्ट औषधि व्यवस्थापन प्रणालीले स्वचालित औषधि वितरण, एआई–आधारित औषधि पहिचान र भ्वाइस रिमाइन्डर जस्ता सुविधा प्रदान गर्ने बताइएको छ। विशेषगरी वृद्धवृद्धा तथा नियमित औषधि सेवन गर्नुपर्ने बिरामीहरूलाई सही समयमा सही औषधि सेवन गर्न सहयोग पुर्याउने उद्देश्यले यो प्रणाली तयार गरिएको उल्लेख गरिएको छ।
एक्वा टेक टाइटन्सका रिवाज मकाजू, आरभ ढकाल र जिसन तामाङले प्रस्तुत गरेको “वाटर पल्स इन्टेलिजेन्स” परियोजनाले नेक्स्ट जेन हेल्थ इनोभेटर अवार्ड प्राप्त गरेको छ। आर्डुइनो–आधारित यो भूमिगत पानी अनुगमन प्रणालीले वास्तविक समयमा जलस्तर र पानीको प्रदूषण अवस्था मापन गर्दछ। पानीको अभाव, प्रदूषण र भू–जल अनुगमनको कमीलाई सम्बोधन गर्ने यो प्रणालीको उद्देश्यले परियोजनालाई विशेष बनाएको उल्लेख गरिएको छ।
एयर नोवाका प्रनभ जंग अधिकारी र आवर्त रेग्मीले तयार पारेको “एयर ग्रो स्मार्ट सिस्टम” परियोजनाले फ्युचर फ्रन्टियर इनोभेटर अवार्ड प्राप्त गरेको छ। यो स्मार्ट वातावरण तथा दिगो कृषि प्रणालीले वायु गुणस्तर अनुगमन र वातावरणमैत्री हरितगृह प्रविधिलाई संयोजन गर्दछ। वायु प्रदूषण, मल अभाव र असक्षम खेतीपातीका समस्या समाधान गर्दै सफा र दिगो कृषितर्फ मार्ग खोल्ने परियोजनाको लक्ष्य रहेको बताइएको छ।
डीईबीएसएसका सृष्टि शंकर, गुन्जन शर्मा कर्ण र परिभाषा पाठकले विकास गरेको “एरोसेन्स” परियोजनाले कन्सोलेसन प्राइज (सिनियर समूह) प्राप्त गरेको छ। यो पोर्टेबल आईओटी–आधारित वायु गुणस्तर मापन प्रणालीले वास्तविक समयमा प्रदूषण, हानिकारक ग्यास र वातावरणीय अवस्था पहिचान गर्दछ। समुदायमा प्रदूषणस्तरबारे सचेतना बढाउन र स्वस्थ जीवन वातावरण प्रवद्र्धन गर्न यो परियोजना उपयोगी हुने अपेक्षा गरिएको छ।
प्रतियोगिताका लागि यी टोलीहरूले महिनौँसम्म अनुसन्धान, कोडिङ, प्रोटोटाइप निर्माण, परीक्षण र परिमार्जनको प्रक्रिया पार गरेका थिए। धेरै विद्यार्थीहरूले आर्डुइनो, आईओटी, एआई मोडेल, सेन्सर र अटोमेसन प्रणालीजस्ता प्रविधिहरू सिक्दै आफ्ना परियोजना तयार पारेका थिए। शिक्षक, मेन्टर, रोबोटिक्स प्रशिक्षक तथा विद्यालयहरूको निरन्तर सहयोगले उनीहरूको तयारीलाई थप सुदृढ बनाएको उल्लेख गरिएको छ। आयोजक टोलीले पनि कार्यशाला, प्राविधिक मार्गदर्शन, परियोजना मूल्याङ्कन र प्रस्तुतीकरणका अवसरमार्फत विद्यार्थीहरूलाई महत्वपूर्ण साथ दिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
यो उपलब्धिले नेपालमा एआई, कोडिङ र रोबोटिक्स शिक्षाको बढ्दो सम्भावनालाई स्पष्ट रूपमा देखाएको छ। नेपाली विद्यार्थीहरू स्वास्थ्य, वातावरण, कृषि र दिगोपनजस्ता क्षेत्रमा व्यावहारिक समाधान विकास गर्न सक्षम छन् भन्ने सन्देश यो प्रतियोगिताले दिएको छ। यस्तो सफलता स्टेम शिक्षालाई अझ बलियो बनाउने, प्रयोगात्मक सिकाइलाई प्रोत्साहन गर्ने र भविष्यका प्रविधि नवप्रवर्तनकर्ताहरूलाई प्रेरित गर्ने महत्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।
कोडएभर ७.० का विजेता टोलीहरूलाई आगामी दिनमा उन्नत तालिम, नवप्रवर्तन बुटक्याम्प, प्रदर्शनी, नेटवर्किङ अवसर तथा सम्भावित अन्तर्राष्ट्रिय सहभागितासम्मका अवसर प्राप्त हुने अपेक्षा गरिएको छ।
यसअघिका कोडएभर ५.० को अन्तर्राष्ट्रिय फाइनल दुबई, युएई स्थित दुबई अमेरिकन एकेडेमीमा, कोडएभर ६.० को फाइनल दोहा, कतारमा आयोजना गरिएको थियो भने हालको कोडएभर ७.० को अन्तर्राष्ट्रिय फाइनल जकार्ता, इन्डोनेशिया स्थित बिनुस युनिभर्सिटीमा आयोजना गरिएको हो।
यो उपलब्धिले नेपाली विद्यार्थीहरूलाई ‘जिज्ञासु बन्नुहोस्, निरन्तर प्रयोग गर्नुहोस्, र असफलतालाई सिकाइको हिस्सा मान्नुहोस्’ भन्ने एउटा स्पष्ट सन्देश दिएको छ। साना अवलोकन, दैनिक जीवनका समस्या र सिर्जनशील सोचबाट ठूला नवप्रवर्तन सुरु हुन सक्छन् भन्ने कुरा यी परियोजनाहरूले प्रमाणित गरेका छन्। नेपाली विद्यार्थीहरूले अब क्षेत्रीय मात्र नभएर विश्वस्तरीय प्रविधि मञ्चमा पनि अर्थपूर्ण योगदान दिन सक्ने क्षमता देखाइसकेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: १९ जेष्ठ २०८३, मंगलवार