
काठमाडौं ।
सरकारले डढेलो नियन्त्रणका लागि ‘ड्रोन’ तथा ‘स्याटेलाइट’को उपयोग गर्ने लक्ष्य लिएको छ।
शुक्रबार प्रस्तुत बजेटमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले डढेलो नियन्त्रणका लागि ड्रोन तथा स्याटेलाइटको उपयोग गरी ‘रियल टाइम’ सूचना आदानप्रदान गरिने बताए।
यसैगरी, चुरे तथा तराई–मधेस क्षेत्रको जलचक्रलाई दिगो बनाउन पानीका स्रोत संरक्षण तथा पोखरी निर्माण, पहिरो नियन्त्रण, तटबन्ध निर्माणलगायत क्रियाकलाप सञ्चालन गर्न करिब रु एक अर्ब विनियोजन गरिएको छ।
जोखिमयुक्त क्षेत्रमा मानव वन्यजन्तु सहअस्तित्व कार्यक्रम सञ्चालन गरिने र प्रमुख सहरहरूमा वायुप्रदूषण मापन केन्द्र र केन्द्रीय वातावरण प्रयोगशालाको स्तरोन्नति गरिने उनको भनाइ छ। वन, वातावरण तथा जलवायु क्षेत्रका लागि रु १२ अर्ब ३१ करोड विनियोजन भएको छ।
प्रकाशित: १६ जेष्ठ २०८३, शनिबार