
काठमाडौं ।
सरकारको बहुमत शेयर स्वामित्व रहेको टेलिकम कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा प्रति कर्मचारीले १६ लाख ६८ हजार रुपैयाँ नाफामा योगदान गर्ने गरेको देखिएको छ।
अर्थ मन्त्रालयले बुधबार सार्वजनिक गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समिक्षा २०८३ अनुसार नेपाल टेलिकमले आर्जन गरेको खुद नाफामा प्रति कर्मचारीको योगदान १६ लाख ६८ हजार ९९८ रुपैयाँ देखिएको छ।
समिक्षा प्रतिवेदनअनुसार नेपाल टेलिकमले आर्थिक वर्ष १०८१/८२ मा ६ अर्ब ६७ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ। सोही आधारमा हेर्दा सो आवमा कम्पनीमा ३ हजार ५९९ कर्मचारीहरु कार्यरत रहेको देखिन्छ।
सरकारले पहिलो पटक सार्वजनिक संस्थानहरुको नाफामा ती संस्थानका कर्मचारीहरुले गरेको योगदानलाई प्रकाशित गरेको छ।
आर्थिक वर्ष १०८१/८२ मा सरकारको लगानी र शेयर भएको जनपयोगी क्षेत्रका संस्थानहरु मध्ये नेपाल टेलिकमले मात्रै सरकारलाई लाभांश दिन सफल भएको छ। नेपाल टेलिकमले सो अवधिमा ४ अर्ब ९४ करोड ७ लाख रुपैयाँ लाभांश बापत सरकारलाई दिएको उक्त प्रतिवेदनमा उल्लेख छ।
यसैगरी कम्पनीले सरकारलाई कुल २ अर्ब २१ करोड ३७ लाख ४७ हजार रुपैयाँ रोयल्टी, भ्याट तथा अन्य कर बापत भुक्तानी गर्न बाँकी रहेको छ। जसमध्ये रोयल्टी मात्रै २ अर्ब १ करोड २७ लाख ८२ हजार रुपैयाँ बुझाउन बाँकी छ भने मूल्य अभिवृद्धि कर बापत सो अवधिमा १८ करोड ५३ लाख ७९ हजार रुपैयाँ बुझाउन बाँकी रहेको तथ्यांकमा देखिन्छ।
सरकारले सबै सार्वजनिक संस्थानहरुमा गरेको कुल शेयर लगानीमध्ये नेपाल टेलिकममा गरिएको शेयर लगानी हिस्सा ४ दशमलब ४५ प्रतिशत मात्र रहेको छ।
उक्त अवधिमा नेपाल टेलिकमको बजार पूँजीकरणमा ३ दशमलब ८२ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ५७ अर्ब ९० करोड ८६ लाख रुपैयाँ पुगेको छ।
प्रतिवेदनअनुसार सो अवधिमा नेपाल टेलिकमको कर्मचारी खर्च समेत बढेको देखिएको छ। नेपाल टेलिकममा सरकारको कुल ९१ दशमलब ५० प्रतिशत शेयर छ भने बाँकी सर्वसाधारणको शेयर लगानी रहेको छ।
प्रकाशित: १४ जेष्ठ २०८३, बिहीबार