
काठमाडौं ।
यहाँका पाँच स्थानीय तहका किसानलाई अनुदान सहुलियतमा खेतबारी जोत्ने कृषि यान्त्रिक उपकरण हाते ट्याक्टर (मिनी ट्रेलर) हस्तान्तरण गरिएको छ।
राष्ट्रिय कृषि आधुनिकीरकण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङले यहाँका किसानलाई ५० प्रतिशत अनुदान सहुलियतमा हाते ट्याक्टरसहित नौ प्रकारका कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरेको हो।
एकाइले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत ‘जोन सुपरजोन क्षेत्रमा कृषि यान्त्रिकीकरण सहयोग कार्यक्रमअन्तर्गत यहाँका किसानकोमा माग सङ्ख्याका आधारमा कृषि यान्त्रिक उपकरण प्रविधि हस्तान्तरण गरेको हो। कार्यक्रम कार्यान्वयन एकाइ मुस्ताङका प्रमुख भरत गौतमका अनुसार स्याउ र आलु जोनमा सूचीकृत किसानलाई कृषि यान्त्रिक उपकरण हस्तान्तरण गरिएको हो।
पाँच स्थानीय तहका स्याउ र आलु जोनमा सूचीकृत ५७ जना किसानलाई उनीहरुको मागमा आधारित कृषि यान्त्रिक उपकरण ५० प्रतिशत अनुदान सहुलियत मङ्गलबारदेखि हस्तान्तरण गरिन थालिएको उनको भनाइ छ । कार्यालयअनुसार चालु आवमा एकाइबाट १९ लाख र लाभग्राही किसानबाट १९ लाख गरी ३८ लाख बढीको यान्त्रिक कृषि उपकरण हस्तान्तरण भएको हो।
एकाइले स्याउ र आलु जोनमा सूचीकृत किसानलाई एक लाख २० हजार मुल्य पर्ने डिजेलवाला हाते ट्याक्टर १२ थान, ८० हजार मूल्य पर्ने पेट्रोलवाला हाते ट्याक्टर १७ थान र सानो खालको पेट्रोलवाला हाते ट्याक्टर दुई थान गरी ३१ थान हाते ट्याक्टर हस्तान्तरण गरेको हो।
प्रकाशित: १४ जेष्ठ २०८३, बिहीबार