
काठमाडौं ।
सामसङ इलेक्ट्रोनिक्सले आफ्ना श्रमिक युनियनसँग गरेको सम्झौताले ठूलो हड्ताल टारेको छ र मेमोरी चिप कामदारलाई उच्च बोनस दिने व्यवस्था गरेको छ।
यसले दक्षिण कोरियाका कम्पनीहरूमा नयाँ बहस सुरु गराएको छ, जहाँ आक्रामक तलब वार्ताका लागि श्रमिक आन्दोलन परिचित मानिन्छ।
सामसङका युनियन आबद्ध कामदारहरूले बुधबार सरकारको मध्यस्थतामा भएको सम्झौताको पक्षमा मतदान गरेका छन्। यो सामसङ युनियनको पहिलो ठूलो सफलता मानिएको छ।
अझ महत्वपूर्ण कुरा, दक्षिण कोरियाको कुनै ठूलो कम्पनीले सञ्चालन नाफाको निश्चित प्रतिशत कामदारलाई दिने लिखित सहमति जनाएको यो दोस्रो घटना हो।
एआई बूमका कारण नाफा तीव्र रूपमा बढिरहेका बेला र प्रतिस्पर्धी चिप निर्माता एसके हाइनिक्ससँगको बोनस अन्तर घटाउन दबाब बढेपछि सामसङले आफ्नो सेमिकन्डक्टर सञ्चालन नाफाको १०.५ प्रतिशत चिप कामदारलाई विशेष बोनसका रूपमा छुट्याउन सहमति जनाएको हो। केही मेमोरी चिप कामदारले कुल ४ लाख १६ हजार डलरसम्म बोनस पाउने भएका छन्।
कामदारको तलबको ५० प्रतिशतसम्म मात्र दिने विशेष बोनस सीमा पनि हटाइएको छ। साथै यो सम्झौताले १० वर्षको आम्दानीलाई समेट्ने जनाइएको छ।
दक्षिण कोरियाली उद्योग क्षेत्रको प्रमुख संकेतक मानिने सामसङको यो निर्णयले अन्य युनियनहरूको अडान पनि कडा बनाउन सक्ने र सञ्चालन नाफाबाट बोनस दिनुपर्ने माग थप बढ्न सक्ने विश्लेषण गरिएको छ।
रोयटर्सका अनुसार कोरिया यूनिभर्सिटीका कानुन प्राध्यापक किम कीचाङले यसले कोरियाका अन्य ठूला कम्पनीहरूमा नयाँ विवाद सुरु गर्न सक्ने र यो केवल सुरुवात मात्र हुन सक्ने बताएका छन्।
उनले बोनस सामान्यतया कर तिरेपछि गणना गरिने विश्वव्यापी अभ्यास विपरीत सामसङका चिप कामदारले कम्पनीको नाफाबाट अग्रिम हिस्सा पाएको बताए।
दक्षिण कोरियाका राष्ट्रपति ली जाय म्युङले पनि सम्झौताअघि चिन्ता व्यक्त गरेका थिए। उनले कर कटौतीअघि सञ्चालन नाफाको निश्चित हिस्सा बाँड्ने व्यवस्था लगानीकर्ताले समेत नपाउने अधिकारजस्तो भएको बताएका थिए।
व्यापारिक समूहहरूले पनि चिन्ता व्यक्त गरेका छन्।
कोरिया इन्टरप्राइजेज फेडरेशनले सामसङको विशेष परिस्थितिलाई आधार बनाएर अन्य उद्योगमा अत्यधिक बोनस माग फैलाउन नहुने जनाएको छ। मेमोरी चिप कामदारहरू एसके हाइनिक्ससँगको बोनस अन्तरका कारण असन्तुष्ट रहेको र ठूलो संख्यामा प्रतिस्पर्धी कम्पनीतर्फ जान थालेपछि सामसङ दबाबमा परेको बताइएको छ। सम्झौता नभएको भए ४८ हजार कामदारले १८ दिन हड्ताल गर्ने तयारी गरेका थिए।
मिडिया रिपोर्टअनुसार एसके हाइनिक्सले गत वर्ष सञ्चालन नाफाको १० प्रतिशत बोनसमा छुट्याएको थियो र बोनस सीमा पनि परिवर्तन गरेको थियो। नयाँ तलब संरचनाअनुसार चिप कामदारले गत आर्थिक वर्षमा आधार तलबको झन्डै ३ हजार प्रतिशतसम्म बोनस पाएको बताइएको छ।
एसके हाइनिक्सले आफ्नो तलब संरचनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ। एआई क्षेत्रमा ठूलो लगानीका प्रमुख लाभग्राही सामसङ र एसके हाइनिक्स भएकाले बोनस विवाद यी कम्पनीसम्म सीमित हुनुपर्ने तर्क गरिए पनि अन्य युनियनहरूले पनि यस्तै माग राख्न थालेका छन्।
इन्टरनेट कम्पनी काकाओ र यसका चार सहायक कम्पनीका कामदारहरूले सञ्चालन नाफाको १३ देखि १५ प्रतिशत बोनसमा दिनुपर्ने माग पूरा नभए हड्ताल गर्ने चेतावनी दिएका छन्। यसबारे श्रम आयोगले मध्यस्थता गरिरहेको छ।
टेलिकम कम्पनी एलजी यूप्लस र जहाज निर्माता एचडी होण्डाई हेभी इन्डस्ट्रिजका युनियनहरूले पनि सञ्चालन नाफाको कम्तीमा ३० प्रतिशत प्रदर्शन आधारित पारिश्रमिकमा दिनुपर्ने माग राखेका छन्। सामसङ बायोलोजिक्समा पनि कामदारहरूले सञ्चालन नाफाको २० प्रतिशत बोनसमा दिनुपर्ने मागसहित यस महिनाको सुरुमा पाँच दिन काम बन्द गरेका थिए। व्यवस्थापन पक्षले माग स्वीकार नगरेपछि विवाद जारी रहेको र कर्मचारीहरूले ओभरटाइम तथा बिदाका दिन काम गर्न अस्वीकार गरिरहेका छन्।
प्रकाशित: १४ जेष्ठ २०८३, बिहीबार