
काठमाडौं ।
नेपाल टेलिकमले देशका विभिन्न विकट तथा दुर्गम स्थानहरुमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल तथा भीस्याट टेलिसेन्टर उपकरण जडान गरी टुजी प्रविधिमा आधारित जीएसएम मोबाइल, टेलिफोन र डाटा सेवा प्रदान गर्दै आएको छ।
चालु आर्थिक वर्षमा डोल्पा जिल्लाको उपल्लो डोल्पास्थित कान्छो गाउँ कुगाउँ तथा निजाल, च्छो-रोल्पा पदमार्ग रहेको दोलखाको ना गाउँ र गोसाईकुण्ड पदमार्ग रहेको रसुवाको चन्दनबारी गरी चार स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा विस्तार गरिएको छ।
हाल नेपाल टेलिकमले यस्ता विभिन्न ३८ स्थानमा यो प्रविधिबाट मोबाइल सेवा प्रवाह गरिरहेको छ। यो प्रविधिका सबैभन्दा बढी अर्थात १४ साइट डोल्पा जिल्लामा रहेका छन्। डोल्पाको छार्का ताङसोङ, छार्का, धो, घुन्सापास, कलाङ, मुकोट, निजाल, फोक्सुन्डो, साल्दाङ, सिम्बाडाँडा सिमेन्कोमास, तिन्जे, भिजेर र कुगाउँमा यी साइट रहेका छन्।
हुम्लाको गोठी, राया, रोडीकोट, श्रीनगर र श्रीमस्ठ तथा मुगुको मुगुगाउँ, पुलु, रारा (मुर्मा ), सोरुकोट र भी गरी पाँच/पाँच स्थानमा साइट रहेका छन्।
यसैगरी मनाङको भिमथाङ, फु र नार, दोलखाको बेदिङ र ना- गाउँ (च्छो-रोल्पा), ताप्लेजुङको घुन्सा र ओलाङचुङगोला, सोलुखुम्बुको गोरक्छेप र मोन्जु, रसुवाको गोसाईंकुण्ड र चन्दनबारी तथा दार्चुलाको टिंकर, बाजुराको बिच्छा र जुम्लाको गुठीचौरमा यस्ता साइट रहेका छन्।
नेपाल टेलिकमले शहरी र सुगम क्षेत्रमा मात्र नभई भौगोलिक हिसाबले देशभरका अत्यन्त विकट तथा जनसंख्याको कोणबाट निकै कम मानिसहरु रहने दुर्गम वस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि भीस्याट प्रविधिको प्रयोग गरेको छ। यस्ता दुर्गम वस्तीहरुमा सेवा उपलब्ध गराउनका लागि कम्पनीले हेलिकप्टरबाट उपकरण र सामानहरु ओसारेर समेत दूरसञ्चार सेवाहरु उपलब्ध गराउँदै आएको छ। यस्ता स्थानहरुमा कम्पनीले गरेको लगानीबाट व्यवासायिक लाभ हासिल हुँदैन। यो विशुद्ध रुपमा ‘नेपाल टेलिकम राष्ट्रको सञ्चार’ भन्ने कम्पनीको मुल नारालाई साकार बनाउने प्रयास मात्र हो। आगामी दिनमा यी साइटहरुलाई अन्य प्रविधिमार्फत स्तरोन्नति गर्ने कार्य गरिने छ।
नेपाल टेलिकमद्वारा कार्यान्वयन भइरहेको ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत यी कार्य भइरहेका छन्। त्यसैगरी ब्याकबोन प्रसारण निर्देशनालय अन्तर्गत सञ्चालित अप्टिकल फाइबर नेटवर्कको विस्तारमार्फत पूर्व-पश्चिम तथा उत्तर-दक्षिण करिडोरसँगै प्रमुख सहरी, अर्धसहरी तथा ग्रामीण क्षेत्रहरूमा उच्च क्षमतायुक्त, सुरक्षित तथा भरपर्दो डाटा ट्रान्समिसन सेवा सुनिश्चित गर्नका लागि आवश्यक कार्य समेत भइरहेका छन्।
प्रकाशित: ११ जेष्ठ २०८३, सोमबार