
काठमाडौं ।
सूचना तथा सञ्चार मन्त्रालयले हालै माग गरेको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदका लागि आवश्यक पर्ने न्यूनतम योग्यता सम्बन्धि विवादित विषय सच्याएको देखिएको छ।
टेक्नोलोजीखबरले आजै सञ्चार मन्त्रालयले न्यूनतम योग्यता हेरफेर गरेको विषयमा समाचार प्रकाशित गरेको थियो।
सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरण र सुरक्षण मुद्रण केन्द्रको रिक्त पदमा आवेदन माग गरेको समयावधि सकिएपछि सूचना तथा सञ्चार मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी दिग्दर्शन,२०८३ तथा सूचना तथा सञ्चार मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी र सदस्यको नियुक्ति तथा मनोनयन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको थियो।
जसले गर्दा प्राधिकरणका अध्यक्ष तथा सदस्य पदहरुमा आवेदन दिने आवेदनहरु स्वतः अयोग्य हुने अवस्था देखिको थियो। यसले आवेदकहरुमाझ अन्यौल समेत सिर्जना गरेको थियो।
सम्बन्धित समाचार-
आवेदन दिने अवधि सकिएपछि नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्य बन्ने योग्यतानै परिवर्तन
तर, बिहिबार मन्त्रालयले उक्त पदहरुका लागि आवेदन दिनेहरुको नामावली सार्वजनिक गरेर उक्त विवादलाईसमेत समाधान गर्ने प्रयास गरेको छ।
मन्त्रालयले सार्वजनिक गरेको आवेदकहरुको सूचीमार्फत दूरसञ्चार ऐन २०५३ तथा दूरसञ्चार नियमावली २०५३ कै व्यवस्थाअनुसार न्यूनतम योग्यता हुने जानकारी दिएको छ।
उक्त सूचीको अन्तिममा “नोट” मा लेखिएको छ, “उम्मेदवारहरुको लागि तोकिएको आवश्यक न्यूनतम योग्यता लगायत अन्य विषयका सम्बन्धमा सूचना जारी गर्दाका बखत तोकिए बमोजिम हुने।”
यसको अर्थ अब सरकारले यसअघि अध्यक्ष र सदस्य पदका लागि सार्वजनिकरुपमा निवेदन माग गर्दाको लागि तोकिएको निवेदन पत्रमा उल्लेख भएअनुसारकै योग्यता कायम हुनेछ।
मन्त्रालयले सार्वजनिक गरेको निवेदन पत्रमा दूरसञ्चार प्राधिकरणका अध्यक्ष र सदस्य पदमा दरखास्त दिनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा ५ को उपदफा (१) बमोजिमको अध्यक्षको हकमा दूरसञ्चार सेवासँग सम्बन्धित प्राविधिक/प्रशासनिक, बजार व्यवस्थापन, लेखा तथा लेखापरीक्षण वा कानूनी क्षेत्रमा मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह उपाधि हासिल गरी सम्बन्धित क्षेत्रमा कम्तिमा दश वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने आवश्यक न्यूनतम योग्यता उल्लेख गरिएको थियो।
तर यसलाई मन्त्रालयद्वारा दिग्दर्शनमार्फत संसोधन गरिएको थियो। जसले आवेदकहरु बिचनै अन्यौल सिर्जना गरेर अधिकांश अयोग्य हुने अवस्था थियो।
सार्वजनिक भएको दिग्दर्शनमा दूरसञ्चार ऐन, २०५३ को दफा ५ को उपदफा (२) बमोजिम नियुक्ति हुने नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष तथा सदस्यको योग्यता सो ऐनमा उल्लेख गरिएको योग्यताका अतिरिक्त तल उल्लेख गरिए बमोजिम हुनुपर्ने उल्लेख गरिएको छ:
तर सरकारले नामावलीको अन्तिम “नोट”मा लेखिएअनुसारनै न्यूनतम योग्यता तोकिने हो वा होईन भन्नेमा आवेदकहरु अझै अन्यौलमा रहेका देखिन्छन्।
टेक्नोलोजीखबरसँग केहि आवेदकहरुले प्रकाशित भएको नामावलीमा लेखिएको “नोट”को मान्यता हुन्छ वा हुँदैन् भन्ने बारेमा नै प्रश्न गरे।
उता, सम्बन्धित सञ्चार मन्त्रालयले भने यस बारेमा औपचारिकरुपमा कुनै जानकारी दिएको छैन्।
प्रकाशित: ७ जेष्ठ २०८३, बिहीबार