कम्पनीका लागि २०० अर्ब डलरको “पूर्ण रूपमा नयाँ” बजार फेला पारेको एनभिडियाका प्रमुख हुआङको भनाई

  • Technology Khabar | ८ जेष्ठ २०८३, शुक्रबार
कम्पनीका लागि २०० अर्ब डलरको “पूर्ण रूपमा नयाँ” बजार फेला पारेको एनभिडियाका प्रमुख हुआङको भनाई

काठमाडौं ।

एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी जेन्सेन हुआङले आफ्नो कम्पनीका लागि २०० अर्ब डलरको “पूर्ण रूपमा नयाँ” बजार फेला पारेको बताएका छन्।

कम्पनीप्रति अत्यधिक आशावादी दृष्टिकोण राख्ने व्यक्तिका रूपमा परिचित हुआङ ले यो नयाँ बजार एनभिडिया को नयाँ सीपीयू उत्पादन “भेरा” सँग जोडिएको बताएका हुन्। भेरा लाई मार्चमा सार्वजनिक गरिएको थियो।

बुधबारको आम्दानी सम्बन्धी छलफलमा एनभिडियाले ८१.६ अर्ब डलर आम्दानीसहित अर्को कीर्तिमानी त्रैमासिक नतिजा सार्वजनिक गरेको थियो। कम्पनीले आगामी त्रैमासिकमा ९१ अर्ब डलर आम्दानी हुने अनुमान पनि गरेको छ। त्यस अवसरमा हुआङले भेरालाई सम्भावित रूपमा परिवर्तनकारी उत्पादनका रूपमा प्रस्तुत गरे।

हालसम्म जीपीयू बजारमा प्रभुत्व जमाएको एनभिडिया लाई सीपीयू बजारमा भने इन्टेल र एएमडीजस्ता कम्पनीहरूले चुनौती दिँदै आएका छन्। एनभिडिया ले पहिले पनि सीपीयू बनाएको भए पनि त्यो कम्पनीको मुख्य व्यवसाय थिएन।

टेकक्रञ्चका अनुसार गत महिना अमेजन वेब सर्भिसेजले मेटासँग आफ्नै एआई सीपीयू सम्बन्धी ठूलो सम्झौता गरेको घोषणा गरेको थियो। एडब्लूएस प्रमुख एण्डी ज्यासीले आफ्नो कम्पनीले एआई चिप क्षेत्रमा एनभिडिया जत्तिकै वा अझ राम्रो प्रदर्शन गर्न सक्ने बताएका थिए।

तर हुआङका अनुसार भेरा सीपीयू ले एनभिडिया का लागि “नयाँ प्रमुख वृद्धि अवसर” खोलेको छ। उनले भेरा लाई “एजेण्टिक एआई का लागि विशेष रूपमा तयार गरिएको विश्वकै पहिलो सीपीयू” भनेका छन्।

उनले भने, “भेराले एनभिडिया का लागि २०० अर्ब डलरको नयाँ बजार खोलेको छ, जुन बजारमा हामीले यसअघि काम गरेका थिएनौं। सबै प्रमुख हाइपरस्केलर र सिस्टम निर्माता कम्पनीहरू यसलाई प्रयोग गर्न हामीसँग सहकार्य गरिरहेका छन्।”

हुआङ का अनुसार एआई मोडेलको “सोच्ने” काम जीपीयू ले गर्छ भने एआई एजेन्टहरूले अधिकांश काम सीपीयू मार्फत गर्छन्। भविष्यमा ती एजेन्टहरूले सीपीयू आधारित आफ्नै प्रकारका कम्प्युटर प्रयोग गर्ने उनको अनुमान छ।

उनले भेरालाई एजेन्टहरूका लागि बनाइएको सीपीयू भन्दै यसको डिजाइन टोकनलाई सकेसम्म छिटो प्रशोधन गर्न केन्द्रित रहेको बताए। परम्परागत क्लाउड सीपीयू भने एकैपटक धेरै एप सञ्चालन गर्न डिजाइन गरिएका हुन्छन्।

एआई चिप विकासमा ठूला क्लाउड कम्पनीहरू र स्टार्टअपहरूबीच प्रतिस्पर्धा बढिरहेका बेला एनभिडिया किन प्रमुख स्रोत बन्न सक्छ भन्ने प्रश्नमा हुआङ ले कम्पनीले यस वर्ष मात्रै २० अर्ब डलर बराबरका भेरा सीपीयू बिक्री गरिसकेको दावी गरे।

उनले भने, “आज संसारमा एक अर्ब मानव प्रयोगकर्ता छन्। भविष्यमा अर्बौं एआई एजेन्ट हुनेछन्। ती सबै एजेन्टहरूले उपकरण प्रयोग गर्नेछन्, जसरी अहिले मानिसहरूले पीसी प्रयोग गर्छन्।”

उनका अनुसार त्यसका लागि धेरै सीपीयू आवश्यक पर्नेछ।

प्रकाशित: ८ जेष्ठ २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

  • Technology Khabar
  • ८ जेष्ठ २०८३, शुक्रबार