यी हुन् नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त ४ सदस्य पदका लागि इच्छुक आवेदकहरु

  • Technology Khabar | ६ जेष्ठ २०८३, बुधबार
यी हुन् नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त ४ सदस्य पदका लागि इच्छुक आवेदकहरु

काठमाडौं ।

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त अध्यक्ष तथा सदस्य पदहरुको लागि आवेदन दिने आवेदकहरुको सूची अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन्।

मन्त्रालयले अन्तिम दिन जेठ ५ गते मंगलबार कार्यालय समयसम्मको अवधि तोकेर आवेदन माग गरेपनि बुधबार अपरान्हसम्म सो पदहरुमा आवेदन दिने आवेदकहरुको नाम सार्वजनिक भएको छैन्।

तर टेक्नोलोजीखबरले सञ्चार मन्त्रालय स्रोत र केहि आवेदकहरुले नै दिएको जानकारीअनुसार कुल ४६ जनाले रिक्त अध्यक्ष तथा ४ सदस्य पदको लागि आवेदन दिएका छन्।

जसमध्ये प्राधिकरणका ४ ओटा रिक्त सदस्य पदका लागि २९ जनाले आवेदन दिएका छन्। प्राधिकरणमा बोर्ड सदस्यहरुलाई विज्ञ सदस्यको रुपमा नियुक्ति गर्ने गरिन्छ।

मन्त्रालय स्रोतकाअनुसार सदस्य पदका लागि २९ जनाले आवेदन दिएका हुन्।

जसमा बोर्ड सदस्यमध्ये सबैभन्दा धेरै प्राविधिक र वित्तिय सदस्य पदका लागि आवेदन परेको छ।

प्राधिकरणबाट हालै पद खारेजीमा परेका गोकर्ण सिटौलाले समेत फेरी वित्तिय सदस्यका लागि आवेदन दिएका छन्। सिटौलालाई अहिलेको सरकारले अध्यक्ष भुपेन्द्र भण्डारीसहितको पद खारेजी गरेर हटाएको थियो।

यसैगरी वित्तिय विज्ञ सदस्यका लागि फुलबाबु झा, कविन्द्र दाहाल, इन्द्रमणि पोखरेल, हेमन्तराज रामाइली, छत्रगोपाल प्रधान तथा केशव बरालले व्यापार/वित्त सदस्य पदका लागि आवेदन दिएका छन भने व्यवस्थापन सदस्यका लागि विपिन चौहानले आवेदन गरेका छन्।

यसैगरी प्राविधिक सदस्यका लागि आशिष शर्मा, जनार्दन भट्ट, ज्ञानेन्द्र खतिवडा, विमल प्रकाश शाह, दीपेन्द्र शाह, अनन्त मल्लिक, नारायण पी.एस. काफ्ले, धनेश्वर झा, अनिलराज गौतमले आवेदन गरेका छन्।

यसका साथै कानूनी सदस्यका लागि विनोद आचार्य र अमृत ​​पीडी रुपाखेतीले आवेदन हालेको देखिन्छ।

यस मध्येपनि केहि आवेदकहरुले अध्यक्ष र सदस्य दुबै पदका लागि आवेदन दिएका छन्।

स्रोतकाअनुसार अध्यक्ष र सदस्य दुबै पदमा आवेदन दिनेहरुमा पंकज कुमार दास, श्रीकृष्ण सुवेदी, दिपकराज लुइटेल, अनन्त सिंह, नबिन्द्र जीसी, र सुवास शाह छन्। यिनिहरुले अध्यक्ष बाहेक कुन बोर्ड सदस्य पदका लागि आवेदन दिए भन्ने खुलेको छैन्।

यस विषयमा औपचारिक जानकारी माग्न मन्त्रालयका प्रवक्ता उदय बहादुर रानामगरलाई कार्यालय समयभित्रै हिजो र आज पटक पटक सम्पर्क गर्न खोज्दा हरेक पटक उनी मिटिङ्गमानै व्यस्त रहेको उनका सहायकले जानकारी दिएका छन्।

प्राप्त हुन आएका आवेदकहरुको व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ताको लागि मन्त्रालयले गठन गरेको सिफारिस समितिले तोकेअनुसार हुने बताईएको छ।

प्राधिकरणका अध्यक्ष र सदस्य पदका लागि आवेदकहरुले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ता दिनुपर्नेछ।

सो व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको आधारमा मन्त्रालयले गठन गरेको छनोट समितिले प्राधिकरणको नयाँ अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा प्रस्ताव गर्नेछ।

सोहि प्रस्तावित नामहरुमध्येबाट मन्त्रिपरिषदले १ जनालाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ। त्यसैगरी सोहीअनुसार, बोर्ड सदस्यको रुपमा ४ जनालाई नियुक्त गर्नेछ।

मन्त्रालयले २०८३ बैशाख २६ गते नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त अध्यक्ष र सदस्य पदहरुको लागि एकैपटक आवेदन माग गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको थियो।

यसअघि सरकारले अध्यादेशमार्फत एकैपटक प्राधिकरणका अध्यक्ष र सदस्यहरुलगायतको पद खारेज गरेको थियो। सोही पदपूर्तिका लागि नयाँ आवेदन माग गरिएको हो।

प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार