
काठमाडौं ।
पठाओ नेपालको प्रबन्ध निर्देशक (एमडी) मा यशु थकाली नियुक्त भएका छन् । असीममान सिंह बस्न्यातले उक्त पदबाट राजीनामा दिएपछि कम्पनीले थकालीलाई उक्त जिम्मेवारी दिएको हो।
कम्पनीकाअनुसार, थकाली पछिल्लो ८ वर्षदेखि पठाओ नेपालसँग आबद्ध छन्। सन् २०१८ मा कम्पनी स्थापना हुँदा उनी टिमका सदस्य थिए। उनी पठाओ ग्रुपका वरिष्ठ उपाध्यक्ष पनि हुन्।
पठाओ नेपालले थकालीको नेतृत्वमा आगामी पाँच वर्षभित्र नेपालको डिजिटल इकोनोमीलाई १० गुणा बढाउने लक्ष्य लिएको छ। यसका लागि पठाओले पार्सलमार्फत देशभर पूर्वाधार विस्तार गर्दै पार्सल डेलिभरी, फुड डेलिभरी, इ-कमर्स, मोबिलिटी तथा अन्य डिजिटल सेवाहरुलाई एउटै डिजिटल इकोसिस्टममा जोड्ने तयारी गरिरहेको छ जनाएको छ।
सुरुमा कम्पनीको फाइनान्स विभागमा काम गरेका थकालीले पछि कम्पनी व्यवस्थापन र सञ्चालनको पनि जिम्मेवारी निर्वाह गरेका थिए।
नेपालमा राइड सेवासहित सुरु भएको पठाओ नेपाललाई पछिल्लो समय फुड डेलिभरी, पार्सल डेलिभरी जस्ता अन्य प्रतिस्पर्धात्मक क्षेत्रमा सफल बनाउन थकालीको भूमिका महत्वपूर्ण रहेको कम्पनीले जारी विज्ञप्तिमा भनेको छ।
पछिल्लो दुई वर्षमा थकालीको नेतृत्वमा बंगलादेशमा पनि पठाओले राम्रो बजार बनाइरहेको छ। त्यहाँ पठाओ बाइक, कार र आटोरिक्साको सेवा तीन गुणासम्म वृद्धि भएको उल्लेख छ।
पेशाले चार्टड एकाउण्टेण्ट (सीए) रहेका थकालीसँग भारतको बैंग्लोरस्थित सीए फर्ममा काम गरेको अनुभव छ। उनले सीजी ग्रुपमा एसेट्स म्यानेजरको रुपमा सातओटा देशमा रहेका सीजीका ४२ वटा प्रोपटिज सम्हालिसकेका कम्पनीले जनाएको छ।
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार