
काठमाडौं ।
अनलाइन ठगीमा संलग्न रहेको आरोपमा गोरखाका एक वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका-२ का वडा सदस्य लक्ष्मण लामिछाने, सिरानचोक गाउँपालिका-७ का यदु पाण्डे र भीमसेन थापा गाउँपालिका-४ की कोपिला लामिछाने रहेका छन्।
रौतहट चन्द्रनिगाहपुर-२ निवासी रेनुमाया थिङको जाहेरीको आधारमा तिनै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पीडित थिङले चिट्ठा परेको भन्दै विभिन्न बहाना बनाएर आफूबाट करिब ७० लाख रुपियाँ ठगी गरिएको आरोप लगाउनुभएको छ।
घटनापछि रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी सीताराम रिजालले जानकारी दिए। प्रहरी अनुसन्धान अनुसार पक्राउ परेका व्यक्तिले गोरखाका सर्वसाधारणलाई कर्जा मिलाइदिने प्रलोभन देखाउँदै विभिन्न बैकमा खाता खोल्न लगाउने गरेको अनुसन्धानमा खुलेको छ।
विशेष गरी एनआइसी एसिया बैक गरिमा विकास बैकमा धमाधम खाता खुलाएर ती खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा गर्ने तथा प्रयोग गर्ने गरिएको खुलेको प्रहरीले जनाएको छ। गाउँलेलाई सहज रूपमा ऋण उपलब्ध गराइदिन्छौं भन्दै खाता खोल्न लगाइन्थ्यो। खाता खोलेबापत १०/१० हजार रुपियाँसमेत दिने गरेको देखिएको एसपी रिजालले बताए।
आजको गोरखापत्रबाट
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार