
काठमाडौं ।
चीनका वैज्ञानिकहरूले अन्तरिक्षमा आधारित सौर्य ऊर्जा केन्द्र निर्माणतर्फ महत्वपूर्ण प्रगति हासिल गरेका छन्। भविष्यमा पृथ्वी तथा अन्तरिक्षयानहरूलाई ऊर्जा आपूर्ति गर्न सक्ने विशाल अन्तरिक्ष विद्युत् केन्द्र निर्माणको दिशामा यो उपलब्धिलाई अत्यन्त महत्वपूर्ण मानिएको छ।
उत्तरपश्चिम चीनको शान्सी प्रान्तस्थित एक विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले ‘सूर्य पछ्याउने’ परियोजनाअन्तर्गत उल्लेखनीय सफलता प्राप्त गरेका छन्। अनुसन्धान टोलीले ताररहित विद्युत् प्रसारणका लागि भूमिमा आधारित यस्तो परीक्षण प्रणाली विकास गरेको छ, जसले एकै समयमा चलिरहेका धेरै उपकरणहरूलाई ऊर्जा प्रदान गर्न सक्षम रहेको बताइएको छ।
हालै सम्पन्न परीक्षणमा उक्त प्रणालीले १०० मिटर दूरीसम्म प्रत्यक्ष विद्युत् प्रवाहमार्फत २०.८ प्रतिशत दक्षतासहित एक हजार १८० वाट ऊर्जा सफलतापूर्वक प्रसारण गरेको जनाएको छ। साथै, टोलीले मानवरहित उड्ने यन्त्रका लागि ताररहित ऊर्जा आपूर्ति प्रणाली पनि विकास गरेको छ।
परीक्षणका क्रममा ३० किलोमिटर प्रतिघण्टा गतिमा उडिरहेको यन्त्रले ३० मिटर दूरीबाट स्थिर रूपमा १४३ वाट ऊर्जा प्राप्त गरेको जानकारी दिइएको छ।
अन्तरिक्ष सौर्य ऊर्जा केन्द्रले पृथ्वीको कक्षमा स्थापित विशाल सौर्य प्यानलमार्फत सूर्यको प्रकाश सङ्कलन गरी त्यसलाई सूक्ष्मतरङ्ग वा प्रकाश किरणका माध्यमबाट पृथ्वी तथा भूउपग्रहहरूमा पठाउने अवधारणामा कार्य गर्दछ। यस प्रविधिले अन्तरिक्ष अभियानका लागि निरन्तर ऊर्जा आपूर्ति सुनिश्चित गर्नुका साथै पृथ्वीमा देखिएको ऊर्जा अभाव कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
अनुसन्धान टोलीले सन् २०१८ मा परियोजनाको पहिलो चरण सुरु गरेको थियो भने सन् २०२२ सम्ममा अन्तरिक्ष सौर्य ऊर्जा केन्द्रसम्बन्धी विश्वकै पहिलो पूर्ण–प्रणाली भूमिगत प्रमाणीकरण प्रणाली निर्माण गरेको जनाएको छ । हाल परियोजना दोस्रो चरणमा प्रवेश गरेको छ, जसअन्तर्गत अन्तरिक्षमा उच्च शक्ति उत्पादन तथा लामो दूरीसम्म प्रभावकारी ऊर्जा प्रसारणका चुनौती समाधान गर्ने लक्ष्य राखिएको छ ।
अनुसन्धानसँग सम्बन्धित एक वरिष्ठ विज्ञका अनुसार सौर्य ऊर्जा सङ्कलन तथा रूपान्तरणको दक्षता वृद्धि, सूक्ष्मतरङ्ग किरण नियन्त्रणको सटीकता सुधार तथा प्रसारण र ग्रहण गर्ने उपकरणलाई साना तथा हलुका बनाउने दिशामा उल्लेखनीय उपलब्धि हासिल गरिएको छ।
उक्त टोलीले एउटै प्रसारण यन्त्रमार्फत धेरै गतिशील लक्ष्यलाई एकैपटक ऊर्जा उपलब्ध गराउने प्रविधिसमेत सफलतापूर्वक विकास गरेको जनाएको छ । भविष्यमा एउटै अन्तरिक्ष ऊर्जा केन्द्रले धेरै उपग्रह वा सवारी साधनलाई एकैसाथ विद्युत् आपूर्ति गर्न सक्ने सम्भावना व्यक्त गरिएको छ।
यद्यपि, व्यावसायिक रूपमा पूर्ण प्रयोगयोग्य अन्तरिक्ष सौर्य ऊर्जा केन्द्र निर्माण हुन अझै समय लाग्ने बताइएको छ । आगामी चरणमा अन्तरिक्षमै परीक्षण सञ्चालन गर्ने योजना रहेको जानकारी दिइएको छ । साथै, दिगो विकास तथा विश्वव्यापी ऊर्जा रूपान्तरणमा चीनले सकारात्मक योगदान पु¥याउने अपेक्षा व्यक्त गरिएको छ। रासस/सिन्ह्वा
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार