काठमाडौं ।
म्याग्दीको मङ्गला गाउँपालिकाले करिब दुई सय जना किसानलाई रु एक करोड मूल्य बराबरका कृषि औजार वितरण गरेको छ।
गाउँपालिकाको केन्द्र बाबियाचौरको माटेबगरमा मङ्गलबार ५० प्रतिशत अनुदानमा मिनिटेलर हलो, मिल र थ्रेसर मेसिन वितरण गरिएको हो। गाउँपालिकाको कृषि शाखाका प्रमुख विमल रोकाले १४९ ओटा मिनिटेलर हलो, ३५ ओटा मिल र ११ थान थ्रेसर वितरण गरेको जानकारी दिए।
कृषि कार्यको लागत घटाउन, कृषकहरुको सहजता र समयको बचतका लागि यान्त्रिकरणका कार्यक्रममा जोड दिएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। खेतबारी खनजोतका लागि गोरुको विकल्पमा मिनिटेलरको प्रयोग बढेको छ।
एक हल गोरुले तीन दिन लगाउने खेतबारी मिनिटेलरले तीन घण्टामै जोत्न थालेपछि समय र खर्चको बचत हुनुका साथै हलगोरु पाल्नुपर्ने झञ्जट हटेको मङ्गला गाउँपालिका–४ का किसान धनमाया रोकाले बताइन।
मिनिटेलरको सुविधा भएपछि हलगोरु पाल्दा घाँस, पानीको जोहो गर्दा हुने झञ्जट हटेको किसान नन्दकला सुनारले बताइन। किसान जगत घर्तीले मिनिटेलरलगायतका उपकरणको प्रयोगबाट कृषि मजदुर नपाउने समस्याबाट मुक्ति मिलेको र समयको बचत भएको बताए। रासस
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार