
काठमाडौं ।
नेपाल प्रहरीको साइबर ब्यूरोले कक्षा १२ को परीक्षाअगावै सामाजिक सञ्जालमार्फत् प्रश्नपत्रसँगै उत्तर समेत सार्वजनिक गर्ने काममा संलग्न थप दुई जनालाई आज पक्राऊ गरेको छ।
पक्राऊ पर्नेमा गोरखा जिल्लाको भीमसेन थापा गाउँपालिका वडा नं. ५ ठेगाना भई हाल नागार्जुन नगरपालिका वडा नं. १ रानीबन बस्ने वर्ष २९ को सन्तोष बञ्जारा र गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ३ ठेगाना भई हाल काठमाडौं, नागार्जुन नगरपालिका वडा नं. १ बनस्थली बस्ने वर्ष २० वर्षीय अश्विन अधिकारी रहेका ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए।
ब्यूरोका राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा केही समय अगावै बाहिरिएको सम्बन्धमा आवश्यक अनुसन्धानको लागि राष्ट्रिय परीक्षा बोर्डको पत्र आएपछि गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट उनीहरुले Class 12 Management only भन्ने व्हाट्सएप ग्रुप तथा फेसबुक मेसेञ्जर लगायतमा विभिन्न ग्रुप बनाएर उत्तरसहित प्रश्न पत्र समेत बाहिर ल्याई प्रश्न पत्रको गोपनीयता भङ्ग गरेका पाइएको हो।
यसअघि सोही आरोपमा वैशाख २८ गते चाबहिल, काठमाडौंबाट पक्राऊ परेका दुई जनालाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंको आदेशले चार दिन म्याद थप गरी अनुसन्धान गरेको थियो।
सम्बन्धित समाचार
सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर समेत सार्वजनिक गर्ने पक्राऊ
प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार