
काठमाडौं ।
सूचना तथा सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त अध्यक्ष तथा सदस्य पदहरुको लागि आवेदन दिने आवेदकहरुको सूची अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन्।
मन्त्रालयले अन्तिम दिन जेठ ५ गते मंगलबार कार्यालय समयसम्मको अवधि तोकेर आवेदन माग गरेपनि अहिले मध्यान्ह सम्म सो पदहरुमा आवेदन दिने आवेदकहरुको नाम सार्वजनिक गरेको छैन्।
तर टेक्नोलोजीखबरले सञ्चार मन्त्रालय स्रोत र केहि आवेदकहरुले नै दिएको जानकारीअनुसार कुल ४६ जनाले रिक्त अध्यक्ष तथा ४ सदस्य पदको लागि आवेदन दिएका छन्। जसमध्ये अध्यक्ष पदका लागि मात्रै २७ जनाले आकांक्षा राखेका छन्।
मन्त्रालय स्रोतकाअनुसार अध्यक्ष पदका लागि मात्रै २७ जनाले आवेदन दिएका छन्। जसमा प्राधिकरणकै निमित्त प्रमुख तथा निर्देशक अर्जुन घिमिरे, प्राधिकरणकै पूर्व निर्देशक अम्बर स्थापित, नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धिराज आचार्य, नेपाल टेलिकममा कार्यरत उप प्रबन्धक डा. मधुसुदन दाहाल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक तथा लुम्बिनी प्रदेशअन्तरगतको सूचना तथा संचार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बाँस्कोटाले आवेदन दिएका छन्।
यस्तै कृष्णराम धुजु, रोहित रौनियार, नगेन्द्रकुमार दास, पंकज कुमार दास, सुनिल कुमार मिश्र, भोजराज घिमिरे, समुल्ला खान, श्रीकृष्ण सुवेदी, दिपकराज लुइटेल, अनन्त सिंह, शैलेन्द्र गिरी, महेशप्रसाद पाण्डे, नबिन्द्र जीसी, रमेश कुमार श्रीवास्तव, अमलेन्दु नारायण सिंह, हरिशङ्कर शाह, नरेन्द्रमान सिंह महर्जन, अनिल कुमार झा, सुशील पीडी शाह, सरोजकुमार शर्मा, र राजेश ताम्राकार छन्।
यस मध्येपनि केहि आवेदकहरुले अध्यक्ष र सदस्य दुबै पदका लागि आवेदन दिएका छन्।
स्रोतकाअनुसार अध्यक्ष र सदस्य दुबै पदमा आवेदन दिनेहरुमा पंकज कुमार दास, श्रीकृष्ण सुवेदी, दिपकराज लुइटेल, अनन्त सिंह, नबिन्द्र जीसी, र सुवास शाह छन्।
यस विषयमा औपचारिक जानकारी माग्न मन्त्रालयका प्रवक्ता उदय बहादुर रानामगरलाई कार्यालय समयभित्रै हिजो र आज पटक पटक सम्पर्क गर्न खोज्दा हरेक पटक उनी मिटिङ्गमानै व्यस्त रहेको उनका सहायकले जानकारी दिएका छन्।
प्राप्त हुन आएका आवेदकहरुको व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ताको लागि मन्त्रालयले गठन गरेको सिफारिस समितिले तोकेअनुसार हुने बताईएको छ।
प्राधिकरणका अध्यक्ष र सदस्य पदका लागि आवेदकहरुले आफ्नो व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तरवार्ता दिनुपर्नेछ।
सो व्यावसायिक कार्ययोजना प्रस्तुती र अन्तर्वार्ताको आधारमा मन्त्रालयले गठन गरेको छनोट समितिले प्राधिकरणको नयाँ अध्यक्षको लागि ३ जनाको नाम मन्त्रिपरिषदमा प्रस्ताव गर्नेछ।
सोहि प्रस्तावित नामहरुमध्येबाट मन्त्रिपरिषदले १ जनालाई दूरसंचार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्नेछ। त्यसैगरी सोहीअनुसार, बोर्ड सदस्यको रुपमा ४ जनालाई नियुक्त गर्नेछ।
मन्त्रालयले २०८३ बैशाख २६ गते नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त अध्यक्ष र सदस्य पदहरुको लागि एकैपटक आवेदन माग गर्दै सार्वजनिक सूचना प्रकाशित गरेको थियो।
यसअघि सरकारले अध्यादेशमार्फत एकैपटक प्राधिकरणका अध्यक्ष र सदस्यहरुलगायतको पद खारेज गरेको थियो। सोही पदपूर्तिका लागि नयाँ आवेदन माग गरिएको हो।
प्रकाशित: ६ जेष्ठ २०८३, बुधबार