
काठमाडौं ।
एआरएक्सआईभीले वैज्ञानिक शोधपत्रमा ठूलो भाषा मोडेल (एलएलएम) को लापरवाहीपूर्ण प्रयोग रोक्न थप कडाइ गर्ने भएको छ।
प्रिप्रिन्ट अनुसन्धानका लागि व्यापक रूपमा प्रयोग हुने यस खुला रिपोजिटरीमा शोधपत्रहरू औपचारिक सहकर्मी समीक्षा हुनुअघि नै पोस्ट गरिन्छ। एआरएक्सआईभी कम्प्युटर विज्ञान र गणितजस्ता क्षेत्रमा अनुसन्धान प्रसारण गर्ने प्रमुख माध्यममध्ये एक बनेको छ। साथै, यो वैज्ञानिक अनुसन्धानका प्रवृत्तिबारे डाटा स्रोतका रूपमा पनि प्रयोग हुँदै आएको छ।
यसअघि पनि एआईद्वारा तयार गरिएका कमजोर गुणस्तरका शोधपत्रहरू बढ्दै गएपछि एआरएक्सआईभीले नयाँ लेखकहरूले पोस्ट गर्नुअघि स्थापित लेखकबाट समर्थन लिनुपर्ने नियम लागू गरेको थियो।
२० वर्षभन्दा बढी समय कर्नेल युनिभर्सिटी अन्तर्गत सञ्चालन भएपछि यो संस्था अहिले स्वतन्त्र गैरनाफामूलक संस्थामा रूपान्तरण हुँदैछ, जसले एआईसम्बन्धी समस्यासहित अन्य चुनौती समाधान गर्न थप रकम जुटाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।
एआरएक्सआईभीको कम्प्युटर विज्ञान शाखाका अध्यक्ष टमस डिएटेरिशले बिहीबार पोस्ट गर्दै “यदि कुनै शोधपत्रमा लेखकहरूले एलएलएमले तयार गरेको सामग्री जाँच नगरेको स्पष्ट प्रमाण भेटिएमा त्यस शोधपत्रको कुनै पनि सामग्रीमा विश्वास गर्न सकिँदैन” बताएका छन्।
डिटरिचका अनुसार यस्तो प्रमाणमा “कल्पित सन्दर्भ सामग्री” वा एलएलएमसँग भएका टिप्पणी तथा संवाद समावेश हुन सक्छन्। यस्तो प्रमाण फेला परेमा सम्बन्धित लेखकलाई एक वर्षका लागि एआरएक्सआईभीमा प्रतिबन्ध लगाइनेछ। त्यसपछि उनीहरूले नयाँ शोधपत्र पोस्ट गर्नुअघि प्रतिष्ठित सहकर्मी समीक्षा भएको जर्नल वा सम्मेलनबाट स्वीकृति पाउनुपर्नेछ।
यो नियमले एलएलएम प्रयोगलाई पूर्ण रूपमा प्रतिबन्ध भने लगाएको होइन। बरु, डिटरिचका अनुसार लेखकहरूले सामग्री कसरी तयार गरिएको भए पनि त्यसको “पूर्ण जिम्मेवारी” लिनुपर्नेछ। त्यसैले यदि अनुसन्धानकर्ताले एलएलएमबाट आएको “अनुपयुक्त भाषा, साहित्यिक चोरी गरिएको सामग्री, पक्षपातपूर्ण सामग्री, त्रुटि, गलत सन्दर्भ वा भ्रामक सामग्री” सिधै प्रयोग गरेमा त्यसको जिम्मेवार उनीहरू नै हुनेछन्।
डिटरिचले ४०४ मिडियालाई दिएको जानकारीअनुसार यो “एक पटक गल्ती गरेपछि कारबाही” हुने नियम हुनेछ। तर प्रतिबन्ध लगाउनुअघि मोडरेटरहरूले समस्या चिन्हित गर्नुपर्नेछ र शाखा प्रमुखहरूले प्रमाण पुष्टि गर्नुपर्नेछ। लेखकहरूले निर्णयविरुद्ध अपिल गर्न पनि सक्नेछन्।
हालै प्रकाशित सहकर्मी समीक्षा भएको अनुसन्धानले जैवचिकित्सा क्षेत्रमा बनावटी सन्दर्भ सामग्रीको प्रयोग बढ्दै गएको देखाएको छ, जसको कारण एलएलएम हुन सक्ने बताइएको छ। यद्यपि एआईले बनाएका गलत सन्दर्भ प्रयोग गरेको आरोप वैज्ञानिकहरूमा मात्र सीमित छैन।
प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार