
काठमाडौं ।
सिरिको नयाँ संस्करणमा च्याट स्वतः डिलिट गर्ने सुविधा समावेश हुन सक्ने भएको छ।
मार्क गर्मनका अनुसार जुनमा हुने वर्ल्डवाइड डेभलपर्स कन्फ्रेन्समा एप्पलले सिरीको नयाँ संस्करण सार्वजनिक गर्दा गोपनीयतालाई मुख्य विषय बनाउनेछ।
टेकक्रञ्चका अनुसार सिरीको पुनःलन्चलाई कृत्रिम बुद्धिमत्ता क्षेत्रमा एप्पलको प्रभाव पुनःस्थापित गर्ने ठूलो अवसरका रूपमा हेरिएको छ। त्यसको एक भागस्वरूप कम्पनीका अधिकारीहरूले अन्य अधिकांश एआई कम्पनीहरूको तुलनामा आफूहरूले प्रयोगकर्ताको गोपनीयतामैत्री दृष्टिकोण अपनाएको दावी गर्ने गर्मनले बताएका छन्।
रिपोर्टअनुसार एप्पलले पहिलोपटक छुट्टै सिरी एप ल्याउने तयारी गरिरहेको छ, जसलाई गुगलको जेमिनीले शक्ति दिनेछ। यसले प्रयोगकर्तालाई च्याटजीपीटी जस्तै च्याटबट अनुभव दिनेछ।
तर अन्य च्याटबटहरूको तुलनामा प्रयोगकर्ताको जानकारी कति समयसम्म प्रयोग र भण्डारण गर्न पाइन्छ भन्नेमा यस एपमा बढी सीमितता हुनेछ।
उदाहरणका लागि गर्मनका अनुसार सिरीमा मेसेजेज एपजस्तै सुविधा हुन सक्छ, जसले प्रयोगकर्तालाई ३० दिन वा एक वर्षपछि वार्तालाप स्वतः डिलिट गर्ने विकल्प दिनेछ। प्रयोगकर्ताले चाहेमा वार्तालाप अनिश्चित समयसम्म राख्न पनि सक्नेछन्।
गुरमनले एप्पलले प्रतिस्पर्धी उत्पादनहरूको तुलनामा सिरीका कमजोरी ढाकछोप गर्न गोपनीयतालाई बढी जोड दिइरहेको हुन सक्ने पनि बताएका छन्। साथै, यसले सुरक्षासम्बन्धी केही पक्ष गुगलले सम्हालिरहेको तथ्य ओझेलमा पर्न सक्ने उल्लेख गरिएको छ।
प्रकाशित: ५ जेष्ठ २०८३, मंगलवार