
काठमाडौं ।
अमेरिकी कृत्रिम बुद्धिमत्ता कम्पनी ओपनएआईले माल्टाका सबै नागरिकलाई एक वर्षका लागि ‘च्याटजीपीटी प्लस’ सेवा उपलब्ध गराउने सम्झौता गरेको छ। कम्पनीले शनिबार माल्टा सरकारसँग उक्त सम्झौता भएको जानकारी दिएको हो।
सम्झौताअनुसार माल्टाका नागरिकले एआई कसरी प्रयोग गर्ने भन्ने सम्बन्धी निःशुल्क तालिम पूरा गरेपछि ‘च्याटजीपीटी प्लस’ सेवा एक वर्षसम्म निःशुल्क प्रयोग गर्न पाउनेछन्। यो कार्यक्रम मे महिनाबाट सुरु हुने र थप नागरिकले तालिम पूरा गर्दै जाँदा विस्तार गरिने बताइएको छ।
रोयटर्सका अनुसार यो सुविधा विदेशमा बसिरहेका माल्टेली नागरिकका लागि पनि खुला रहने कम्पनीले जनाएको छ।
माल्टाका अर्थमन्त्री सिल्भियो शेम्ब्रीले एआईलाई अपरिचित अवधारणाबाट परिवार, विद्यार्थी र श्रमिकका लागि व्यवहारिक सहयोगमा रूपान्तरण गर्ने दिशामा यो कार्यक्रम महत्वपूर्ण कदम भएको बताएका छन्।
माल्टा यस्तो कार्यक्रम सुरु गर्ने पहिलो देश बनेको छ। यद्यपि, सम्झौताको आर्थिक विवरण भने सार्वजनिक गरिएको छैन।
प्रकाशित: ३ जेष्ठ २०८३, आईतवार