चीनबाट ल्याउँदै गरेको ५६ लाख ७० हजार मूल्य बराबरका अवैध १ हजार ६२० थान भेप बरामद

  • Technology Khabar | २ जेष्ठ २०८३, शनिबार
चीनबाट ल्याउँदै गरेको ५६ लाख ७० हजार मूल्य बराबरका अवैध १ हजार ६२० थान भेप बरामद
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

सिन्धुपाल्चोक स्थित तातोपानी नाका क्षेत्रको जङ्गलबाट करिब ५६ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको अवैध इलेक्ट्रिक सिगरेट (भेप) सहित सात जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कोदारी लार्चाले चीनबाट ल्याउँदै गरेको अवैध भेप पक्राउ गरेको हो।

प्रहरीले भोटेकोशी गाउँपालिका–३, बोक्चेन हुँदै अरनिको राजमार्गको करिब १० किलोमिटर भित्री सडकबाट उक्त भेप बरामद गर्दै तस्करीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा कोदारी राजमार्ग निस्कने बोक्चेनको भित्री बाटो प्रयोग गरी भेप ल्याइँदै गर्दा प्रहरीले विशेष चेकजाँचका क्रममा बरामद गरेको हो।

पक्राउ पर्नेहरूमा भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल विक, ३७ वर्षीय मङ्गलबहादुर थामी र बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङ रहेका छन्।

शुक्रबार राति करिब ९:३० बजे उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले १ हजार ६२० थान भेप बरामद गरेको छ।

बरामद भेपको धनीको पहिचान गर्न थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

प्रकाशित: २ जेष्ठ २०८३, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार