
काठमाडौं ।
अनलाइन जुवा सट्टेबाजी खेलाएर विभिन्न बैंकमा खाता खोली ठगीमा संलग्न भएको आरोपमा सुर्खेत प्रहरीले एक शिक्षकसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले उक्त ठगीमा संलग्न पञ्चपुरी नगरपालिका–९ सुर्खेतमा शिक्षक पेसा गरी बस्ने ३९ वर्षीय महेन्द्रकुमार बोहोरा, व्यापारी ४२ वर्षीय यामलाल विक र होटल व्यवसायी ४६ वर्षीय डम्बर विकलाई आज पक्राउ गरेको हो।
पक्राउ परेका तीन जनाले प्रारम्भिक अनुसन्धानबाट करिब रु दुई करोड ४६ लाख बराबरको शङ्कास्पद कारोबार गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाले जानकारी दिए।
उनका अनुसार सामाजिक सञ्जाल इन्टरनेटका माध्यमबाट ठगी गर्ने मनसायले प्रलोभनमा पारी हारजित हुनेगरी अनलाइन जुवा सट्टेबाजी खेलाउने, बैंक खाता खोली उक्त कार्यमा लगाई दुरुपयोग गरी शङ्कास्पद कारोबार गर्ने गरेको गोप्य तथा प्राविधिक सूचनाका आधारमा उनीहरुलाई इलाका प्रहरी कार्यालय बाबियाचौरको टोलीले पक्राउ गरेको हो।
पक्राउ परेका बोहराले विभिन्न बैंकमा ६ ओटा खाता खोली ठगीमा संलग्न भएको, व्यापारी विकले विभिन्न बैंकमा पाँचओटा खाता खोली खाता दुरुपयोग गरी शङ्कास्पद कारोबार गरेको र व्यवसायी विकले विभिन्न बैंकमा नौ ओटा खाता खोली दुरुपयोग गरी शङ्कास्पद कारोबार गर्दा प्रारम्भिक अनुसन्धानबाट करिब रु दुई करोड ४६ लाख बराबरको शङ्कास्पद कारोबार भएको पाइएकाले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बुढ्थापाले बताए।
पक्राउ परेका तीनै जनाउपर बैंकिङ कसुर, जुवा सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणलगायत कसुरमा प्रारम्भिक अनुसन्धान भइरहेको उनले बताए । अनलाइन ठगी, जुवा, सट्टेबाजीमा संलग्न हुनु वा सहयोग गर्नु गम्भीर अपराध भएकाले आफ्नो खाता, पिन कोड, ओटिपीलगायत विवरण गोप्य तथा सुरक्षित राखी कसैलाई सेयर नगरी ठगिनबाट बच्नसमेत प्रहरीले अनुरोध गरेको छ । रासस
प्रकाशित: ३१ बैशाख २०८३, बिहीबार