
काठमाडौं ।
सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्याउन थालिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी हुलाक कार्यालयमार्फत मङ्गलबारदेखि सेवाग्राहीको घरमा पुर्याउन थालिएको हो।
जिल्ला हुलाक कार्यालय चितवनका प्रमुख शालिकराम बस्यालकाअनुसार इच्छाकामना गाउँपालिका–७ सृजना टोलका रामबाबु प्रजालाई घरमा नै राहदानी दिएर सेवाको शुभारम्भ गरिएको हो। आज १९ ओटा र मङ्गलबार ४४ ओटा राहदानी विभिन्न पालिकाहरूमा पठाइएको छ।
मङ्गलबार १२ ओटा राहदानी घरमा पुर्याएर दिइएको छ। जिल्ला हुलाक कार्यालयले छओटा पालिका हुलाक, भरतपुर महानगरपालिकाका तीन ओटा हुलाक काउन्टरमध्ये दुईओटामा राहदानी पठाएको छ।
यस्तै जिल्लाका विभिन्न पालिकामा रहेका १२ ओटा अतिरिक्त हुलाक कार्यालयमा राहदानी पठाइएको छ। भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार ओटा, खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक ओटा अतिरिक्त हुलाक कार्यालय रहेका छन्। जिल्ला प्रशासन कार्यालयबाट जिल्ला हुलाक कार्यालयमा राहदानी आएपछि ठेगाना रहेको नजिकको हुलाक कार्यालयमा पठाउने गरिन्छ। त्यहाँका कर्मचारीमार्फत घरघरमा राहदानी पुग्ने गरेको हो।
राहदानी बनाउन फारम भर्ने समयमा कहाँबाट लिने भन्ने निवेदनमा भरेपछि सोहीअनुरूप राहदानी पुग्ने गर्दछ। राहदानी घरमा नै पुर्याउने भएमा सोही समयमा रु ५५ भुक्तानी गर्नुपर्ने हुन्छ। राहदानीसँगै रसिद पनि पठाइने उनले जानकारी दिए। हुलाक कार्यालय र मातहतमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी रहेका छन्।
प्रकाशित: ३० बैशाख २०८३, बुधबार