
काठमाडौं ।
भोडाफोनको बेलायती व्यवसायले गत वर्ष ३० प्रतिशत राजस्व वृद्धि गर्दै ९ अर्ब १९ करोड यूरो आम्दानी गरेको छ। मे महिनाको अन्त्यमा भएको मर्जरपछि थ्री यूकेको कारोबारसम्बन्धी विवरण पनि भोडाफोनको तथ्यांकमा समावेश गरिएको हो। अहिले बेलायती व्यवसायले समूहको कुल कारोबारको २३ प्रतिशत हिस्सा ओगटेको छ।
अर्गानिक आधारमा हेर्दा बेलायतमा सेवा राजस्व भने केवल ०.३ प्रतिशतले मात्रै बढेको छ। उपभोक्ता र होलसेल व्यवसायमा भएको वृद्धिले व्यवसायिक क्षेत्रको गिरावटलाई केही हदसम्म सन्तुलन गरेको कम्पनीले जनाएको छ।
टेलिकम्स डटकमका अनुसार भोडाफोनथ्रीका मोबाइल कन्ट्र्याक्ट ग्राहक संख्या १२ महिनामा १ लाख २७ हजारले घटेको छ। कम्पनीका अनुसार यसको मुख्य कारण ५३ हजार कम मूल्यका व्यवसायिक सिम बन्द गर्नु तथा थ्री यूकेको ग्राहक संख्या घट्नु हो।
फिक्स्ड सेवातर्फ भने ब्रोडब्यान्ड ग्राहक २ लाख २२ हजारले बढेका छन् भने फिक्स्ड वायरलेस प्रयोगकर्ता ५६ हजारले वृद्धि भएका छन्। सोमबार भोडाफोनले बेलायतमा ५जी ब्रोडब्यान्ड सेवा सुरु गरेपछि यो संख्या आगामी आर्थिक वर्ष २०२७ मा अझ महत्वपूर्ण बन्न सक्ने बताइएको छ। यद्यपि यो सेवा फाइबर इन्टरनेट उपलब्ध नभएका ग्राहकका लागि मात्र उपलब्ध हुनेछ।
“बेलायतको मर्जर एकीकरणबाट प्राप्त प्रारम्भिक सफलताले यसको सम्भावनाप्रति हाम्रो विश्वास अझ बलियो बनाएको छ र अब पूर्ण स्वामित्व प्राप्त गर्न पाउँदा म निकै खुसी छु,” डेला भालेले भने।
आगामी केही त्रैमासिक अवधिमा भोडाफोनका बेलायत र जर्मनी व्यवसायलाई विशेष रूपमा नजिकबाट हेरिने बताइएको छ।
प्रकाशित: ३० बैशाख २०८३, बुधबार