सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर समेत सार्वजनिक गर्ने पक्राऊ

  • Technology Khabar | २९ बैशाख २०८३, मंगलवार
सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्रसँगै उत्तर समेत सार्वजनिक गर्ने पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल प्रहरीको साइबर ब्यूरोले कक्षा १२ को परीक्षाअगावै सामाजिक सञ्जालमार्फत् प्रश्नपत्रसँगै उत्तर समेत सार्वजनिक गर्ने दुई जनालाई पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. ८ ठेगाना भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३२ सुविधानगर बस्ने वर्ष ३७ को निराजन शाही र धादिङ जिल्लाको निलकण्ठ नगरपालिका वडा नं. ३ ठेगाना भई हाल काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं. १० कपन बस्ने वर्ष ३० को प्रेम कुमार श्रेष्ठ रहेका ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिलिप कुमार गिरीले जानकारी दिए।

ब्यूरोका राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिएको कक्षा १२ को प्रश्नपत्र परीक्षा सुरु हुनुभन्दा केही समय अगावै बाहिरिएको सम्बन्धमा आवश्यक अनुसन्धानको लागि राष्ट्रिय परीक्षा बोर्डको पत्र आएपछि गरिएको प्राविधिक विश्लेषण तथा अनुसन्धानबाट उनीहरुले Class 12 Management only भन्ने व्हाट्सएप ग्रुप तथा फेसबुक मेसेञ्जर लगायतमा विभिन्न ग्रुप बनाएर उत्तरसहित प्रश्न पत्र समेत बाहिर ल्याई प्रश्न पत्रको गोपनीयता भङ्ग गरेका पाइएको हो।

पक्राऊ परेका दुवै जनालाई ब्यूरोको टोलीले मिति हिजो वैशाख २८ गते चाबहिल, काठमाडौंबाट पक्राउ गरी बिद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंको आदेशले चार दिन म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ।

प्रकाशित: २९ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...