
काठमाडौं ।
अब एप्पलको आईओएस र गुगलको एण्ड्रोइड प्रयोगकर्ताबीच पठाइने टेक्स्ट सन्देश पनि इण्ड-टू-इण्ड इन्क्रिप्टेड हुने भएका छन्। सोमबारदेखि सबैभन्दा नयाँ सफ्टवेयर प्रयोग गरिरहेका आईफोन र एण्ड्रोइड प्रयोगकर्ताबीचका सन्देशमा बिटा संस्करणमार्फत इण्ड-टू-इण्ड इन्क्रिप्टेड (ईटूईई) मेसेजिङ सुविधा विस्तार हुन थालेको हो।
इण्ड-टू-इण्ड इन्क्रिप्टेड मेसेजिङ महत्वपूर्ण गोपनीयता सुविधा मानिन्छ, जसले प्रयोगकर्तालाई ह्याकर, सरकार वा सञ्चार प्लेटफर्म बनाउने कम्पनीहरूको निगरानीबाट धेरै हदसम्म सुरक्षित बनाउँछ। यस्ता सन्देश पठाउँदा सन्देश मार्गमै इन्क्रिप्ट हुने भएकाले अरू कसैले बीचमै अवरोध गरेर पढ्न लगभग असम्भव हुन्छ।
तर अहिलेसम्म आईफोन र एण्ड्रोइड बीच पठाइने सन्देशमा इण्ड-टू-इण्ड इन्क्रिप्शन सम्भव थिएन। आईमेसेज भने सन् २०११ मा सुरु भएदेखि नै इन्क्रिप्टेड थियो, जबकि एण्ड्रोइड प्रयोगकर्ताले आपसमा सन् २०२१ देखि ईटूईईमार्फत सञ्चार गर्न पाएका थिए।
वर्षौंदेखि आईओएस र एण्ड्रोइड प्रयोगकर्ताबीचको सञ्चार झन्झटपूर्ण रहँदै आएको थियो। एण्ड्रोइड प्रयोगकर्ताले आईमेसेज प्रयोग गर्न पाउँदैनथे भने एप्पलले सन् २०२० देखि उपलब्ध आरसीएस मेसेजिङलाई समर्थन गर्न अस्वीकार गर्दै आएको थियो। आरसीएस पुरानो एसएमएस प्रणालीको आधुनिक संस्करण हो, जसले टाइपिङ इन्डिकेटर, रिड रिसिट, इमोजी रियाक्शन, लामो सन्देश र इन्क्रिप्शनजस्ता सुविधा दिन्छ।
तर नियामकीय दबाबपछि एप्पलले सन् २०२३ मा मात्रै आरसीएस समर्थन सुरु गरेको थियो।
टेकक्रञ्चका अनुसार गुगलले लामो समयदेखि एप्पललाई आरसीएस समर्थन गर्न आग्रह गर्दै आएको थियो, ताकि दुवै कम्पनीका उपकरणबीच सञ्चार सहज बनोस्। यो विषय यति चर्चित बनेको थियो कि मानिसहरूले “ग्रीन बबल स्टिग्मा” को समेत चर्चा गर्न थालेका थिए। यसले आईफोन प्रयोगकर्ताले एण्ड्रोइड बाट आएका सन्देश हरियो बबलमा देखिने अवस्थालाई जनाउँथ्यो।
एप्पलले आरसीएस समर्थन सुरु गर्नुअघि एण्ड्रोइड प्रयोगकर्ताबाट आएका सन्देशले ग्रुप च्याट बिग्रिने वा फोटो तथा भिडियोको गुणस्तर निकै खराब हुने समस्या सामान्य थियो। अब आरसीएसमा आएको इण्ड-टू- इण्ड इन्क्रिप्शन समर्थनले हरियो र निलो बबलबीचको अन्तर अझ कम गर्ने अपेक्षा गरिएको छ।
हाल इण्ड-टू- इण्ड इन्क्रिप्टेड आरसीएस मेसेजिङ बिटा रूपमा विस्तार हुन थालेको मात्रै भएकाले सबै प्रयोगकर्ताले तुरुन्तै यो सुविधा पाउन नसक्ने सम्भावना छ। यदि गुगल र एप्पलका उपकरणबीचको कुराकानी इन्क्रिप्टेड भएमा प्रयोगकर्ताले च्याट सुरक्षित रहेको संकेत दिने लक आईकन देख्नेछन्।
प्रकाशित: ३० बैशाख २०८३, बुधबार