स्टार्टअप उद्यम कर्जाका लागि प्रारम्भिक सूचीमा छनोट भए यी १ हजार ३ सय एक परियोजना

  • Technology Khabar | १८ बैशाख २०८३, शुक्रबार
स्टार्टअप उद्यम कर्जाका लागि प्रारम्भिक सूचीमा छनोट भए यी १ हजार ३ सय एक परियोजना
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्वीर।

काठमाडौं ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जाका लागि प्रारम्भिक सूचीमा छनोट भएका १ हजार ३ सय एक परियोजनाको सूची सार्वजनिक गरेको छ।

प्रतिष्ठानले हालै एक विज्ञप्ति प्रकाशित गरी “स्टार्टअप उद्यम ऋण कार्यक्रम संचालन कार्यविधि, २०७९ (पहिलो संशोधन सहित)” बमोजिम २०७९ कार्तिक १९ गतेदेखि २०७९ मंसिर ०९ गतेसम्म परियोजना प्रस्ताव आह्वान गरेकोमा प्राप्त प्रस्तावहरु मध्ये प्रारम्भिक सूचीमा परेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराएको हो।

साथै प्रारम्भिक सूचीमा परेका प्रस्तावकहरुको लागि थप जानकारी समेत यसैसाथ प्रकाशित गरिएको छ। जानकारीमा विवरण भर्ने तरिका र बुझाउने म्यादलगायत उल्लेख गरिएको छ।

कसरी भर्ने विवरण ?

  • स्टार्टअप उद्यम कर्जा कार्यक्रम प्रारम्भिक सूचीमा परेका प्रस्तावकर्ताले प्राप्त गरेको एसएमएसको लिंकमा क्लिक गरी वा https://iedi.gov.np वेबसाइटमा गएर उल्लेख प्रारम्भिक सूचीमा परेका व्यवसायको विवरण भरी पठाउनुपर्नेछ। उक्त विवरण पठाउँदा प्रस्तावकर्ताले व्यवसायको विवरण भर्ने फारम (फर्म्याट) डाउनलोड गर्नुपर्नेछ।
  • सो फारम अनुसार व्यवसायिक विवरण (बिजनेस डिटेल) स्पष्ट तथा पूर्ण रूपमा भर्नु पर्नेछ।
  • पूर्ण रूपमा भरिएको फारम टोकनको व्हाट्सएप नम्बर ९७१९०६५७१९ मा पठाउनु होला।
  • यो सूचना प्रकाशित भएको मितिले (सात) दिनभित्र (२०८२ वैशाख २३ गते बेलुका ५:०० बजेभित्र) अनिवार्य रूपमा पठाउनु पर्नेछ।
  • तोकिएको समयसीमाभित्र विवरण पेश नगरेका उक्त प्रस्ताव स्वत: अमान्य हुनेछ।

 

छनोट भएका स्टार्टअपहरुमा कृषि, पशुपालन, ब्यूटिपार्लर, कुटानीपिसानी, पिउने पानी, चाउमिन, चिया प्याकेजिङ, नर्सरी, फाइबर, काष्ठ उद्योग, कम्प्युटर तथा सूचना प्रविधि, होटल, माछा पालन, विद्यालय, प्रिन्टिङ, रेष्टुरेन्ट, फोटो स्टुडियो, कपाल काट्ने सैलुन, बुटिक, कपडा, जुत्ताचप्पल, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स व्यवसाय रहेका छन्।

यस्तै बेकरी, इभेन्ट म्यानेमेन्ट, साबुन उद्योग, सेरामिक, कपी उद्योग, हस्तकला, डेण्टल केयर, सुनाचाँदी पसल, होस्टेल, अल्लो प्रशोधन, मोबाइल मर्मत, च्याउखेती, विज्ञापन सेवा, फार्मेसी, ऊर्जा, सञ्चार गृह, डेरी, आरन उद्योग, ब्याण्डबाजा, अचार उद्योग, दुनाटपरी व्यवसाय लगायतका छन्।

यीमध्ये कृषि, तरकारी, पशुपालनलगायतका व्यवसायको  सङ्ख्या अत्यधिक छ।

प्रकाशित: १८ बैशाख २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार