
काठमाडौं ।
कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ)ले ‘युनिभर्सल एसेप्टेन्स’ (यूए) सम्बन्धी विश्वव्यापी अभियान तथा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा “यूए ह्याकाथन नेपाल २०२६” का लागि आधिकारिक रूपमा आवेदन खुला गरेको छ।
अन्तर्राष्ट्रिय संस्था आईसीएएनएन, युनेस्को, एपीएनआईसी र सनवे कलेज काठमाडौंको सहकार्यमा आयोजना हुन लागेको यो कार्यक्रमले नेपाली भाषा र लिपिमा आधारित इन्टरनेट प्रणालीको विकासलाई प्राथमिकता दिएको छ। यस ह्याकाथनको मुख्य उद्देश्य सबैका लागि समावेशी र बहुभाषिक इन्टरनेट सुनिश्चित गर्नु भएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाली लिपिमा आधारित डोमेन नेम प्रयोग गर्न इच्छुक रहेका हरुका लागि यो अभियान लक्षित गरिएको बताइएको छ। हाल इन्टरनेटमा अंग्रेजी भाषाको वर्चस्व रहेको अवस्थामा, नेपाली लगायत अन्य स्थानीय भाषाहरूमा पनि सजिलै इमेल र वेबसाइटहरू सञ्चालन गर्न सकिने वातावरण बनाउन यो अभियान सुरु गरिएको वज्ञप्तिमा थप उल्लेख गरिएको छ।
ह्याकाथनका मुख्य विवरणहरूः
यस ह्याकाथन मार्फत सहभागीहरूले बहुभाषिक र ’यूए–रेडी’ डिजिटल समाधानहरू निर्माण गर्ने अवसर पाउनेछन्।
सहभागी हुन इच्छुक व्यक्तिहरूले क्यान महासंघको आधिकारिक नेपाली पोर्टल https://क्यान.संगठन/दर्ता/ मा गई आफ्नो नाम दर्ता गर्न सक्नेछन्।
इन्टरनेटलाई सबैको पहुँचमा पुर्याउन र प्रविधिको क्षेत्रमा नयाँ आविष्कार गर्न यो एउटा उत्कृष्ट प्लेटफर्म हुने विश्वास लिइएको छ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि https://क्यान.संगठन/ मा हेर्न सकिनेछ।
युनिभर्सल एसेप्टेन्स (यूए) दिवसले सबै डोमेन नेम र इमेल ठेगानाहरूलाई सबै इन्टरनेट अनुप्रयोग, उपकरण र प्रणालीहरूले स्वीकार गर्न सक्ने (यूए–रेडीनेस) सुनिश्चित गर्न सचेतना जगाउने र त्यसलाई अपनाउन प्रोत्साहन गर्ने गर्ने संस्थाले जनाएको छ।
प्रकाशित: १६ बैशाख २०८३, बुधबार