
काठमाडौं ।
मध्यपश्चिम विश्वविद्यालयमा ‘अन्तरविषयगत सहकार्यद्वारा कृत्रिम बुद्धिमत्ता र डिजिटल रुपान्तरणको युगमा दिगो भविष्य निर्माण’ भन्ने मूल नारासहित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन–२०२६’ आइतबार सम्पन्न भएको छ।
भारतको बिरला ग्लोबल युनिभर्सिटीसँगको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालयद्वारा आयोजित ‘बहुविषयगत अन्तरराष्ट्रिय सम्मेलन’ले ज्ञान तथा अनुभव आदानप्रदान, अनुसन्धानको स्तरवृद्धि तथा विश्वव्यापी शैक्षिक सहकार्य विस्तार, कृत्रिम बुद्धिमत्ता र डिजिटल रुपान्तरणमा जोड दिएको छ।
सम्मेलनका क्रममा विषयगत सत्र, अनुसन्धानपत्र प्रस्तुति, प्यानल छलफल तथा अन्तरक्रियामार्फत डिजिटल रूपान्तरणका अवसर र चुनौतीलगायत विविध विषयबारे गहन छलफल भएको थियो। सम्मेलनले बहुविषयगत सहकार्य, ज्ञान आदानप्रदान र अनुसन्धानको स्तर अभिवृद्धि गर्दै शैक्षिक तथा प्राविधिक क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको निष्कर्ष निकालिएको छ।
समापन समारोहलाई सम्बोधन गर्दै उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले सम्मेलनमा छलफल भएका कुरा कार्यान्वयन गर्न सरोकारवाला सबैलाई आग्रह गरे। उपकुलपति गौतमले सम्मेलन सफल तुल्याउन मन, वचन र कर्मले समर्पित हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यसैगरी सक्रियतापूर्वक समूह कार्य गर्ने विश्वास व्यक्त गरे।
समारोहमा रजिष्ट्रार प्रा डा शोभाखर कँडेलले अन्तरराष्ट्रिय सम्मेलनले विश्वविद्यालयको उचाइ बढाएको बताए। उक्त अवसरमा सम्मेलनको समग्र प्रगति प्रतिवेदन सम्मेलन व्यवस्थापन समितिका संयोजक डा यदुप्रसाद ज्ञवालीले प्रस्तुत गरेका थिए भने प्रमुख वक्ताका रूपमा निम्त्याइएका बेलायतका प्रा डा जोनाथन रिक्स र साझेदार निकाय समाज जागरण केन्द्र (स्याक) नेपालका टीकाराम आचार्यले समापन मन्तव्यका क्रममा सम्मेलन ऐतिहासिक बनेको धारणा व्यक्त गरेका थिए।
बिरला ग्लोबल विश्वविद्यालयका प्रतिनिधि डीन प्रा डा अर्चना चौधरी, जर्मनीबाट प्रमुख वक्ताका रूपमा निम्त्याइएकी प्रा डा सुसान्ने र काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा अच्युतप्रसाद वाग्लेसहितका वक्ताहरूले आफ्ना धारणा राखेका थिए ।
सम्मेलनमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित देशभरका उपकुलपतिहरू सम्मिलित ‘राउन्डटेबल’ छलफलमा विश्वविद्यालयका विद्यमान समस्या, चुनौती सम्भावना र अवसरबारे उच्चस्तरीय प्राज्ञिक मन्थन भएको थियो ।
त्यसैगरी, कृत्रिम बुद्धिमत्तता र विश्वव्यापी रुपान्तरणले हाम्रो जीवनशैली, अर्थतन्त्र, शासन प्रणाली र सामाजिक संरचनामा गहिरो प्रभाव पारेकाले यो अवस्थामा दिगो भविष्य निर्माणका लागि अन्तरविषयगत सहकार्य र बहसको अपरिहार्यता दर्शाइएको मध्यपश्चिम विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले जानकारी दिए। रासस
प्रकाशित: १४ बैशाख २०८३, सोमबार