हरेक सार्वजनिक सवारी साधनमा दुई वा सोभन्दा बढी सीसीटीभी उपकरण अनिवार्य रुपमा जडान गर्नु पर्ने

  • Technology Khabar | १४ बैशाख २०८३, सोमबार
हरेक सार्वजनिक सवारी साधनमा दुई वा सोभन्दा बढी सीसीटीभी उपकरण अनिवार्य रुपमा जडान गर्नु पर्ने

काठमाडौं ।

अबदेखि हरेक सार्वजनिक सवारी साधनमा दुई वा सो भन्दा बढी सीसीटीभी उपकरण अनिवार्य रुपमा जडान गर्नु पर्ने भएको छ।

सो जडान गर्ने दायित्व सम्बन्धित सवारीको सवारी धनीको हुनेछ। तर ट्याक्सीको हकमा सीसीटीभी अनिवार्य जडान गर्न बाध्य हुने छैन।

हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको सवारी साधनलाई प्रविधिजडित, स्वस्थ, सुरक्षित, मर्यादित र यात्रीमैत्री बनाउनेसम्बन्धि निर्देशिका, २०८२ (मस्यौदा) मा यस्तो व्यवस्था गरिएको हो।

मुलुकमा सञ्चालन हुने सार्वजनिक, मालवाहक तथा अन्य सवारी साधनहरूमामा नवीन प्रविधि र उपकरणहरूको जडान गरी यस क्षेत्रमा हुने गरेका स्वास्थ्य तथा सुरक्षा जोखिम, अनियमितता, दुर्व्यवहार, दुर्घटनाको नियन्त्रण र न्यूनिकरण गर्दै यातायात क्षेत्रलाई थप सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन आवश्यक भएकाले सवारी तथा यातायात नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गरी विभागले यो निर्देशिका बनाई लागू गरेको हो।

यो निर्देशिका सरकारबाट स्वीकृत भएको मितिदेखि लागू हुनेछ।

निर्देशिका अनुसार सीसीटीभी उपकरणको सुरक्षा गर्नु सवारी चालक र परिचालकसमेतको दायित्व हुनेछ भने सीसीटीभी जडानका लागि व्यवस्थापक वा सवारी धनीले माग गरेमा विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन सक्नेछ।

सवारी साधनमा जडित सीसीटीभीको तथ्याङ्क कम्तीमा तीन महिनासम्मको सुरक्षित राख्नु पर्ने दायित्व सवारी व्यवस्थापक, सवारी धनी वा चालकको हुनेछ भनेसीसीटीभी उपकरण सवारी साधनभित्रको सम्पूर्ण गतिविधि अभिलेखित हुने गरी जडान गरेको हुनु पर्नेछ। सीसीटीभी उपकरण जडान भएको सूचना सवारी यात्री सबैले देख्ने गरी टाँस्नु पर्नेछ।

यातायात सेवा नियमन र व्यवस्थापन गर्ने निकायले सीसीटीभी उपकरणमा अभिलेख भएको सूचना, जानकारी तथा विवरण माग गरेमा सम्बन्धित व्यवस्थापक वा सवारी धनीले उपलब्ध गराउनु पर्नेछ। जडान हुने सीसीटीभी उपकरणले सार्वजनिक सवारी साधनभित्र यात्रीको संख्या गणना, यात्रीको अनुहार पहिचान गर्न सक्ने कृत्रिम बुद्धिमता (एआई) प्रविधिमा आधारित हुनु पर्नेछ।

सीसीटीभी उपकरणले चालकको व्यवहारजन्य जोखिम, थकान वा असवाधानीजन्य गतिविधि पहिचान गरी दूर्घटना रोकथाममा सहयोग पुग्ने गरी व्यवहार विश्लेषण तथा आक्रामक ड्राइभिङ्ग पहिचान गर्ने क्षमतासमेत हुनु पर्नेछ।

यसैगरी सीसीटीभी उपकरणमार्फत् सङ्कलन तथा अभिलेखन भएको सूचना तथा तथ्याङ्क कन्ट्रोल रुममा पठाई वास्तविक समयमा हुनु पर्ने निगरानी, तथ्याङ्क विश्लेषण र आकस्मिक प्रतिक्रिया सुनिश्चित गर्न गराउन ठुला यात्रुवाहक सार्वजनिक सवारी साधनहरुमा वाईफाई हटस्पटको व्यवस्था गर्नु पर्ने पनि निर्देशनमा उल्लेख छ।

प्रकाशित: १४ बैशाख २०८३, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार