
काठमाडौं ।
सरकारले सडक सुरक्षाको सुनिश्चितताका लागि सुरक्षित सडक यातायात व्यवस्थापन गर्न नवीनतम प्रविधिको प्रयोग गरी एकीकृत यातायात प्रणालीलाई प्रोत्साहन गर्ने भएको छ।
हालै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जारी गरेको राष्ट्रिय सडक सुरक्षा नीति, २०८२ (मस्यौदा) मा यस्तो व्यवस्था गरिएको हो। नीति अनुसार
सबै सडक यातायात सम्बन्धी निकायहरुको सडक सुरक्षा नीति नियम कार्यविधि वा निर्देशिका र प्राविधिक प्रतिवेदनहरु राष्ट्रिय सुरक्षा नीतिसँग सामञ्जस्य हुनेगरी निर्माण गरिनेछ।
यसैगरी सुरक्षाका लागि सडकको प्राविधिक अवस्थालाई विचार गरी कुनै खास सडकका लागि कुनै खास सवारीलाई मात्र अनुमति प्रदान गर्ने, चलक अनुमतिपत्र प्रणालीलाई व्यवसायिक सवारी चालक अनुमतिपत्रको व्यवस्था सहित समयसापेक्ष सुधार गर्दै लगिने, सवारी चालकहरुको व्यक्तिगत विवरण सवारी साधनको प्रकार स्वामित्व चालकको व्यवहार र सवारी कसुरको तथ्याङ्क सुरक्षित अभिलेखमा राखी सबै अभिलेखलाई सम्बन्धित निकायमा विद्युतीय तथ्याङ्कको रुपमा संग्रह गरी सुरक्षित गर्ने व्यवस्था मिलाइनेछ।
गति सीमा अनुगमन र नियमन गर्न नवीन प्रविधिको प्रयोगसहित मापदण्ड र निर्देशिका बनाइने छ। सडक सुरक्षासम्बन्धी विषयहरुमा नवप्रवर्तनात्मक प्रविधिहरु एवं अन्तर्राष्ट्रिय असल अभ्यासहरु समेतको अवलम्बन गरिनेछ।
यस्तै प्रदेशमा आधुनिक उपकरणसहितका सवारी जाँच गर्ने सुविधासम्पन्न परीक्षण केन्द्रहरु स्थापना तथा विस्तार गर्ने, सवारी साधनका उत्पादन, मर्मत तथा जडान कारखानाहरु तथा सवारी साधन जडान गरी तयार अर्थात् एसेम्बल गर्ने कारखानाले विश्वव्यापी तथा अन्तरराष्ट्रिय मान्यता प्राप्त सुरक्षित सवारी मापदण्ड पालना गर्ने व्यवस्था मिलाइने छ।
सडक दुर्घटनासम्बन्धी तथ्याङ्कको संकलन विश्लेषण तथा जानकारी प्रदान गर्न राष्ट्रिय सडक दुर्घटना सूचना व्यवस्थापन प्रणाली आरएआईएमएसलाई प्रयोगमा ल्याइ सडकको उच्च जोखिम भएका क्षेत्रको पहिचान र तिनीहरुको सुधारको प्रभावकारिताको मूल्याङ्कनका लागि समेत प्रयोग गरिनेछ।
एकीकृत सडक सुरक्षा सूचना व्यवस्थापन प्रणालीमार्फत् तहगत सरकारहरुबीच आवश्यक सूचनाको व्यवस्थापन र वितरण गरिने नीतिमा उल्लेख गरिएको छ।
प्रकाशित: १४ बैशाख २०८३, सोमबार