
काठमाडौं ।
नबिल बैंकले आफ्ना विरुद्ध विभिन्न सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यमले नियोजित दुष्प्रचार गरेको भन्दै त्यस्ता माथि विद्युतीय कारोबार ऐन, २०६३ (अर्थात साइबर कसूर सम्बन्धित कानून) तथा अन्य प्रचलित कानूनअनुसार कानूनी कारबाहीको प्रक्रियामा जाने चेतावनी दिएको छ।
बैंकले हालै केही दिनयता विभिन्न सामाजिक सञ्जाल तथा केहि सञ्चार माध्यममा नबिल बैंकले ग्राहकको गोपनीयता भंग गरी ग्राहकको कारोबारसम्बन्धी जानकारी लीक गरेको भन्ने विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कर्पोरेट सञ्चार शाखाले जारी गरेको विज्ञप्तिमा आफ्नो बैंक विरुद्ध आधारहीन तथा प्रमाणबिहीन प्रचार–प्रसार भइरहेको आरोप लगाएको छ।
केही व्यक्तिहरूद्वारा सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
“सूचनाको स्पष्ट स्रोतसहित प्रकाशित समाचारलाई बंग्याउँदै बैंक सम्बन्धमा दुष्प्रचार गर्ने व्यक्ति तथा निकायलाई तथ्यहीन दुष्प्रचार नगर्न तथा जनमानसलाई भ्रमित नपार्न आग्रह गर्दछौं। साथै, नियोजित दुष्प्रचार गर्ने व्यक्तिमाथि विद्युतीय कारोबार ऐन, २०६३ तथा अन्य प्रचलित कानूनअनुसार कानूनी कारबाहीको प्रक्रियामा जान बैंक बाध्य हुनेछ,” जारी विज्ञप्तिमा भनिएको छ।
यसका साथै नबिल बैंकले कुनै पनि ग्राहकको सूचना वा कारोबार विवरण ग्राहक स्वयं, निजको आधिकारिक प्रतिनिधि, वा नियामकीय तथा अनुसन्धानकारी निकायहरूले कानूनी प्रक्रिया अनुसार मागेको अवस्था बाहेक कुनै पनि सञ्चार माध्यम, व्यक्ति वा अनधिकृत निकायलाई उपलब्ध गराउन नमिल्ने र नगराएको भनेको छ।
“बैंकको कुनै पनि ग्राहकको विवरण कसैले लिएको अवस्थामा बैंकको रेकर्डमा कुन मितिमा, कुन कर्मचारीले, कुन प्रयोजनका लागि निकालेको हो भन्ने सम्पूर्ण विवरण तथा लगत बैंकको प्रणाली अर्थात् कोर बैंकिङ सिस्टममा सुरक्षित रूपमा अभिलेखित रहन्छ,” बैंकले भनेको छ।
यसका साथै बैंकमाथि लगाइएका सम्पूर्ण आरोप तथा अनुमानहरू गलत, भ्रामक तथा आधारहीन रहेको र इजाजतपत्र प्राप्त ‘क’ वर्गको वाणिज्य बैंकको हैसियतले नबिल बैंकले प्रचलित कानून, नियमन, प्रावधान तथा निर्देशन एवं आन्तरिक सुशासन तथा सूचना सम्बन्धी नीतिहरूको पूर्ण रूपमा पालना गर्दै ग्राहक सूचनाको पूर्ण गोपनीयता कायम गर्न कटिबद्ध रहेको जानकारी गराएको छ।
प्रकाशित: ११ बैशाख २०८३, शुक्रबार