नेपाल टेलिकमको इन्टरनेसनल लिज लाइनका प्रयोगकर्ताहरु बढ्दै

  • Technology Khabar | ८ बैशाख २०८३, मंगलवार
नेपाल टेलिकमको इन्टरनेसनल लिज लाइनका प्रयोगकर्ताहरु बढ्दै

काठमाडौं ।

नेपाल टेलिकमले उपलब्ध गराइरहेको इन्टरनेसनल लिज लाइनका प्रयोगकर्ताहरु समेत बढिरहेका छन् । नेपाल टेलिकमले विभिन्नसरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ।

उक्त सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहनाका साथै २४सै घण्टा निरन्तर डेडिकेटेड रूपमा सेवा उपलब्ध हुने भएकाले यो सेवा प्रयोग गर्नेहरु बढिरहेका उल्लेख छ।

इन्टरनेसनल लिज लाइन प्रयोगकर्ता ग्राहकका लागि आवश्यक सेवा अन्तर्राष्ट्रिय लिज सेवा प्रदायकहरुले नेपालको सीमानामा उपलब्ध गराए पश्चात ग्राहकको सम्बन्धित स्थान सम्मका लागि आवश्यक लिंक नेपाल टेलिकमले उपलब्ध गराउने गरेको छ। दुई वा दुईभन्दा बढी देशमा रहेका कार्यालय, डाटा सेन्टर वा नेटवर्कलाई सिधा र स्थायी रूपमा जोड्नका लागि यसले महत्वपूर्ण भूमिका खेलेको कम्पनीको भनाई छ।

यो सेवा विशेषगरी बहुराष्ट्रिय कम्पनी, बैंक तथा वित्तीय संस्था, आईटी कम्पनी, क्लाउड सेवा प्रदायक र ठूला उद्योगहरूले प्रयोग गर्छन्।

इन्टरनेसनल लिज लाइन प्रयोग गर्दा विभिन्न देशमा रहेका कार्यालयहरूबीच उच्च गतिको नेटवर्कमार्फत निरन्तर रुपमा डाटा आदान–प्रदान गर्न सकिन्छ र ग्राहकले खरिद गरेको क्षमता पूर्ण रुपमा उपभोग गर्न सकिन्छ।

सार्वजनिक इन्टरनेटमा जस्तै ट्राफिक भीडका कारण गति घट्ने समस्या यसमा हुँदैन । त्यसैले वित्तीय कारोबार, क्लाउड कम्प्युटिङ, डाटा ब्याकअप, भिडियो कन्फ्रेन्सिङ तथा महत्वपूर्ण व्यावसायिक प्रयोजनका लागि यो सेवा अत्यन्त उपयुक्त मानिन्छ।

विश्वव्यापी डिजिटल अर्थतन्त्रको विस्तारसँगै सुरक्षित र उच्च–गतिको अन्तर्राष्ट्रिय नेटवर्क कनेक्टिभिटी आवश्यक हुँदै गएकोले इन्टरनेसनल लिज लाइनको महत्व दिनप्रतिदिन बढ्दै गएको कम्पनीले जनाएको छ।

प्रकाशित: ८ बैशाख २०८३, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...