
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले विज्ञापनरहित प्रसारण गर्न तथा डाउनलिंक अनुमति नलिएका विदेशी टेलिभिजन च्यानलहरुको प्रसारण तत्काल बन्द गर्न टेलिभिजन वितरण प्रणाली सेवा प्रदायक संस्थाहरुलाई निर्देशन दिएको छ।
यस्ता टेलिभिजन वितरण प्रणाली सेवा प्रदायक संस्थाहरुमा डिजिटल केबल, एमएसओ, आईपीटीभी, डीटीएच तथा डीटीटीभी सेवा प्रदायकहरु पर्दछन्।
विभागले हालै एक विज्ञप्ति जारी गरी सम्बद्ध सबैलाई नियम बमोजिम गर्न गराउन निर्देशन दिएको हो।
पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा यस विभागबाट निरीक्षण/अनुगमन गर्दा तथा श्री विज्ञापन बोर्डको च.नं. ३५८, मिति २०८२/११/१४ को प्राप्त पत्र समेतबाट विभिन्न टेलिभिजन वितरण प्रणाली (डिजिटल केबल, एमएसओ, आईपीटीभी, डीटीएच तथा डीटीटीभी) सेवा प्रदायक संस्थाहरुले राष्ट्रिय प्रसारण नियमावली, २०५२ बमोजिम डाउनलिंक अनुमति लिएका कतिपय विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनसहित प्रसारण गरेको र ऐ. नियमावली बमोजिम डाउनलिंक अनुमति नलिएका कतिपय विदेशी टेलिभिजन च्यानलहरुसमेत प्रसारण गरिरहेको देखिएकोले डाउनलिंक अनुमति लिएका विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित प्रसारण गर्नु गराउनुहुन तथा डाउनलिंक अनुमति नलिएका विदेशी टेलिभिजन च्यानलहरुको प्रसारण तत्काल बन्द गर्नु गराउनुहुन निर्णयानुसार अनुरोध छ।’
प्रकाशित: ७ बैशाख २०८३, सोमबार