
काठमाडौं ।
सबै सार्वजनिक तथा सरकारी कार्यालयका प्रमुख, प्रवक्ता तथा सूचना अधिकारीले कार्यालय समयभित्र मोबाइल फोन अनिवार्य रूपमा सञ्चालनमा राखी गुनासो सम्बोधन गर्नुपर्ने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक निकायका वेबसाइटमा विवरण अद्यावधिक गर्न र गुनासो सम्बोधन गर्न निर्देशन जारी गरेको छ।
जारी निर्देशनअनुसार अबदेखि मन्त्रालयहरु, आयोग र सचिवालय, सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सबै स्थानीय तहहरुलाई परिपत्र गरेर विवरण अद्यावधिक गर्न तथा सर्वसाधरणका गुनासो सम्बोधन गर्न निर्देशन दिएको हो।
उक्तपत्रमा विभिन्न निकायहरुका वेबसाइटमा कार्यालय प्रमुख, प्रवक्ता तथा सूचना अधिकारीको विवरण अद्यावधिक नभएको, कार्यालयका टेलिफोन तथा मोबाइल नम्बर नलाग्ने सम्बन्धी गुनासा प्राप्त भएको उल्लेख छ।
यस्तै ति निकायहरुमा कार्यरत कर्मचारीहरूको नाम, मोबाइल नम्बर र इमेल ठेगाना कार्यालयको वेबसाइटमा तत्काल अद्यावधिक गर्न भनिएको छ।
कार्यालय प्रमुख, प्रवक्ता र सूचना अधिकारीले कार्यालयको मोबाइल फोन कम्तिमा कार्यालय समयमा अनिवार्य रूपमा सञ्चालनमा राखी नागरिक तथा सेवाग्राहीले माग गरेका सूचना तथा गुनासोको तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
प्रकाशित: ७ बैशाख २०८३, सोमबार