
काठमाडौं ।
भोडाफोन बिजनेसको नयाँ फाइभजी प्लस लोकल स्लाइसिङसेवाले ५ वर्ग किलोमिटरसम्मको स्थानीय क्षेत्रमा समर्पित नेटवर्क स्लाइस उपलब्ध गराउने भएको छ। यसले स्टेडियम, लजिस्टिक्स हब, विश्वविद्यालय क्याम्पस र निर्माण स्थलजस्ता क्षेत्रलाई लक्षित गरेको छ।
भोडाफोनथ्रीको इन्टरप्राइज शाखा भोडाफोन बिजनेसले बेलायतमा पहिलो पटक व्यवसायिक ग्राहकका लागि व्यावसायिक फाइभजी नेटवर्क स्लाइसिङ सेवा सुरु गरेको दावी गरेको छ। साथै व्यस्त क्षेत्रमा व्यवसायका लागि नेटवर्क बूस्ट सेवा पनि ल्याएको छ।
फाइभजी प्लस लोकल स्लाइसिङसेवा अत्यावश्यक कनेक्टिभिटी आवश्यक पर्ने उत्पादन उद्योग, लजिस्टिक्स कम्पनी, स्वास्थ्य सेवा प्रदायक, खुद्रा व्यवसाय, विश्वविद्यालय, यातायात हब, स्टेडियम र क्याम्पस वातावरणजस्ता संस्थाहरूका लागि बनाइएको हो।
यस सेवामार्फत ५ वर्ग किलोमिटरको निश्चित क्षेत्रमा नेटवर्कको छुट्टै भाग छुट्याइने भएकाले व्यवसायलाई स्थिर र पूर्वानुमानयोग्य कार्यसम्पादन सुनिश्चित गरिनेछ। आवश्यकता अनुसार अस्थायी वा स्थायी रूपमा स्लाइस प्रयोग गर्न सकिनेछ र थप स्लाइस पनि थप्न सकिनेछ।
यो सेवा किङ चार्ल्स तेस्रोको राज्याभिषेक, ग्लास्टनबरी फेस्टिभल र प्रिन्सिप्यालिटी स्टेडियममा परीक्षण गरिएको थियो, जहाँ ठूलो संख्यामा मानिसहरूले एकैपटक नेटवर्क प्रयोग गर्दा पनि स्थिर र प्राथमिकता प्राप्त कार्यसम्पादन देखिएको कम्पनीले जनाएको छ।
भोडाफोनथ्रीकाब बिजनेस डाइरेक्टर निक ग्लिडनले भने, “भोडाफोन बिजनेसले बेलायतमा पहिलो पटक इन्टरप्राइजका लागि नेटवर्क स्लाइसिङलाई व्यवहारमा उतारेको छ। व्यवसायलाई मोबाइल कनेक्टिभिटीबाट अझ धेरै आवश्यक छ।”
उनले थपे, “व्यवसायहरूले हजारौँ कारोबार प्रक्रिया, एआई प्रयोग, रियल-टाइम लजिस्टिक्स सञ्चालन र कर्मचारीबीच सञ्चारका लागि मोबाइल नेटवर्क प्रयोग गरिरहेका छन्, जुन पहिले साझा प्रयोगका लागि बनाइएको थियो। लोकल स्लाइसिङले यसलाई परिवर्तन गर्छ र व्यवसायको आवश्यकताअनुसार कनेक्टिभिटी प्रदान गर्छ।”
भोडाफोन बिजनेसले नेटवर्क बूस्ट सेवा पनि सुरु गरेको छ, जसले व्यस्त क्षेत्रमा व्यवसायिक ग्राहकलाई थप भरपर्दो मोबाइल कनेक्टिभिटी दिने लक्ष्य राखेको छ। कम्पनीका अनुसार भुक्तानी प्रक्रिया, क्लाउड आधारित एप प्रयोग, भिडियो बैठक जस्ता कामका लागि मोबाइल नेटवर्कमा निर्भरता बढ्दै जाँदा नेटवर्क भीडले समस्या निम्त्याउन सक्छ।
नेटवर्क बूस्ट सेवा भोडाफोनको फोरजी र फाइभजी नेटवर्कमा व्यवसायिक डाटा ट्राफिकलाई प्राथमिकता दिएर यस्तो समस्या समाधान गर्ने उद्देश्यले ल्याइएको हो।
कम्पनीका अनुसार हालैको अध्ययनमा ५४ प्रतिशत संस्थाहरूले व्यस्त नेटवर्क अवस्थालाई प्रमुख चिन्ताका रूपमा लिएका छन् भने ८१ प्रतिशत व्यवसायले उच्च मागको समयमा पनि भरपर्दो कनेक्टिभिटी सुनिश्चित गर्ने सेवामा लगानी गर्न इच्छा देखाएका छन्।
यो सेवा विशेषगरी सहरका केन्द्र, यातायात हब, ठूला कार्यक्रम, निर्माण स्थल र खुद्रा क्षेत्रजस्ता भीडभाड हुने स्थानमा उपयोगी हुने कम्पनीले जनाएको छ। यी सेवाहरू साना तथा मझौला व्यवसाय, ठूला संस्थान र सार्वजनिक क्षेत्रका ग्राहकलाई लक्षित गरिएको छ।
प्रकाशित: ७ बैशाख २०८३, सोमबार