
काठमाडौं ।
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा नेपालको आफ्नै स्याटेलाइट लन्च शुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले बुधबार संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७६/७७ को लागि बजेट प्रस्तुत गर्दै आफ्नै स्याटेलाइट स्थापना गर्ने बताएका हुन् ।
बजेटमा सरकारले सूचना प्रविधि र अनलाईनमार्फत सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकतामा राख्दै दूरसंचार तथा सूचना प्रविधिलाई हरेक क्षेत्रमा बिस्तार गर्ने योजना ल्याएको हो ।
सरकारले आगामी आवमा नै नयाँ स्याटेलाइट लन्च गर्ने योजना सार्वजनिक गर्दै साइबर सुरक्षा जोखिम न्यूनिकरणको कार्य गरिने उल्लेख गरेको छ । त्यसैगरि विद्युतिय तथ्यांकहरु सुरक्षित राख्नको लागि डाटा रिकभरी सेन्टर स्थापना गर्नेछ भने स्थानिय तहका सबै निकायहरुमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने भएको छ ।
दूरसंचार क्षेत्रमा पूर्वाधार सहप्रयोगलाई कार्यान्वयमा ल्याउने तथा फ्रिक्वेन्सीको उचित बाँडफाँट र प्रयोगको लागि राष्ट्रिय फ्रिक्वेन्सी नीति र रणनीति ल्याउने भएको छ ।
आगामी ५ वर्षभित्र सबै सरकारी कामकाजलाई सूचना प्रविधिको आधारमा संचालन गर्ने योजनाअनुसार सरकारले डिजिटल नेपालको फ्रेमवर्कको अवधारणालाई कार्यान्वय गर्ने अर्थमन्त्री खतिवडाले बताए । उनले मोबाइल एपमा आधारित नागरिक सेवाहरु प्रदान गरिने भन्दै सूचना प्रविधिमा आधारित राष्ट्रिय ज्ञान पार्क ललितपुरको खुमलटारमा बनाउने उल्लेख गरे ।
राहदानी, बैंक चेक, अन्तशुल्क स्टिकर, जग्गाधनी प्रमाण पुर्जालगायत सरकारी कागतपत्रहरु सुरक्षित मुद्रणको लागि सेक्यूरिटी प्रेस २ वर्षभित्र स्थापना गरिने तथा खानेपानी र विद्युत उपयोग बापतको शुल्क विद्युतीय भुक्तानी गर्ने व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।
आर्थिक वर्ष २०७६।७७ का लागि अर्थमन्त्री खतिवडाले कुल १५ खर्ब ३२ अर्बको बजेट पेस गरेका छन्। चालुतर्फ ९ खर्ब ५७ अर्ब, पूँजीगतर्फ ४ खर्ब ८ अर्ब तथा वित्तियतर्फ १ खर्ब ६७ अर्ब सहित १५ खर्ब ३२ अर्बको बजेट विनियोजन गरिएको अर्थमन्त्री खतिवडाले बताए।
बजेटको स्रोत व्यवस्थापनका लागि ९ खर्ब ८१ अर्ब राजश्व संकलन गर्ने र २ खर्ब ९८ अर्ब अन्तर्राष्ट्रिय ऋण र ५७ अर्ब सहायताबाट व्यवस्था गर्ने भएको छ।
सरकारले १ सय ९५ अर्ब आन्तरिक ऋण परिचालन गर्ने भएको छ।
प्रकाशित: १५ जेष्ठ २०७६, बुधबार