
काठमाडौं ।
गुगलमाथि एउटा प्रतिस्पर्धी कम्पनीले प्रतिस्पर्धाविरोधी मुद्दा दायर गरेको छ। मंगलबार दायर गरिएको नयाँ एन्टिट्रस्ट मुद्दाले गुगलले एन्ड्रोइड एप वितरण र बिलिङमा एकाधिकार कायम गर्दै प्रतिस्पर्धी एप स्टोरहरूलाई बाहिर धकेलेको र अमेरिकी प्रतिस्पर्धा कानुन उल्लंघन गरेको आरोप लगाएको छ।
पोर्चुगलको कम्पनी एप्टोइडले आफू मोबाइल गेममा केन्द्रित विश्वको तेस्रो ठूलो एन्ड्रोइड एप स्टोर भएको बताउँदै, गुगलको “प्रतिस्पर्धाविरोधी नियन्त्रण” का कारण साना प्रतिस्पर्धीहरूलाई दबाइएको आरोप लगाएको छ। गुगलको मातृ कम्पनी अल्फाबेटले यसबारे तुरुन्त प्रतिक्रिया दिएको छैन।
लिस्बनमा आधारित एप्टोइडले आफूलाई “वैकल्पिक एन्ड्रोइड एप स्टोर” भनेर चिनाउँदै २०२४ सम्म करिब ४ लाख ३६ हजार एप र वार्षिक २० करोडभन्दा बढी प्रयोगकर्ता रहेको जनाएको छ।
यसले विकासकर्तालाई कम कमिसन र प्रयोगकर्तालाई सस्तो सेवा दिने दावी गरे पनि, गुगलले ठूला विकासकर्ताबाट विशेष सामग्री नदिई प्रतिस्पर्धीलाई कमजोर बनाएको र विकासकर्तालाई गुगल प्ले तथा अन्य आवश्यक सेवातर्फ धकेलेको आरोप लगाएको छ।
सान फ्रान्सिस्कोको संघीय अदालतमा दायर मुद्दामा कथित प्रतिस्पर्धाविरोधी गतिविधि रोक्न आदेश र क्षतिपूर्तिका रूपमा तीन गुणासम्म हर्जाना माग गरिएको छ। एप्टोइडले यसअघि २०१४ मा पनि युरोपेली संघका प्रतिस्पर्धा निकायमा गुगल विरुद्ध उजुरी दिएको थियो।
गत नोभेम्बरमा गुगलले एपिक गेम्ससँगको पाँच वर्ष पुरानो एन्टिट्रस्ट विवाद समाधान गर्न एन्ड्रोइड र एप स्टोरमा परिवर्तन गर्न सहमति जनाएको थियो। फोर्टनाइट बनाउने एपिक गेम्सको मुद्दामा २०२३ मा ज्यूरीले गुगलले अवैध रूपमा प्रतिस्पर्धा दबाएको ठहर गरेको थियो र त्यसपछि अदालतले सुधारका आदेश दिएको थियो।
यससँगै गुगलले अमेरिकी सरकारको अर्को मुद्दामा पनि बचाउ गर्दै आएको छ जहाँ २०२४ अगस्टमा अदालतले यसको सर्च इन्जिनलाई अवैध एकाधिकार ठहर गरेको थियो।
पछि अदालतले प्रतिस्पर्धीहरूसँग सर्च डाटा साझेदारी गर्न आदेश दिए पनि एन्ड्रोइड अपरेटिङ सिस्टम वा क्रोम ब्राउजर बेच्न भने आवश्यक ठहराएन। गुगल र सरकार दुवैले यस निर्णयविरुद्ध अपिल गरेका छन्।
प्रकाशित: ४ बैशाख २०८३, शुक्रबार