
काठमाडौं ।
भिडियो गेम प्लेटफर्म रोब्लक्सले बालबालिकाको अनलाइन सुरक्षालाई मजबुत बनाउन नयाँ कदमस्वरूप उमेरअनुसार छुट्टै खाता प्रणाली ल्याउने घोषणा गरेको छ। बाल सुरक्षा सम्बन्धी चिन्ताका कारण विश्वभर बढ्दो निगरानीको सामना गरिरहेको अवस्थामा कम्पनीले यो निर्णय गरेको हो।
कम्पनीको उमेर जाँच प्रणाली वा अभिभावक प्रमाणीकरणमार्फत ५ देखि ८ वर्ष उमेर समूहका प्रयोगकर्तालाई “रोब्लक्स किड्स” खातामा र ९ देखि १५ वर्षका प्रयोगकर्तालाई “रोब्लक्स सेलेक्ट” खातामा राखिनेछ। यी खाता प्रणाली जुनको सुरुवातदेखि लागू हुनेछन्।
मुख्य सुरक्षा अधिकृत म्याट कौफम्यानले भने, “हामीले ‘रोब्लक्स किड्स’ र ‘रोब्लक्स सेलेक्ट’ खातामा सामग्री वा खेल देखाउनका लागि कडा मापदण्ड पनि लागू गर्नेछौं।”
रोयटर्सका अनुसार पछिल्ला केही वर्षमा रोब्लक्समाथि बालबालिकालाई यौन शोषण र दुरुपयोगबाट जोगाउन नसकेको आरोपमा विभिन्न देशका सरकारबाट कडा आलोचना हुँदै आएको छ।
“किड्स” खातामा देखाइने खेलहरू उमेरअनुसार सीमित गरिनेछन् र तिनीहरूले कडा तीन चरणको समीक्षा प्रक्रिया पार गर्नुपर्नेछ। सामग्री सिर्जनाकर्ताका लागि पनि कडा मापदण्ड लागू गरिनेछ। “किड्स” खातामा च्याट सुविधा डिफल्ट रूपमा बन्द रहनेछ भने “सेलेक्ट” खातामा उमेरअनुसार क्रमशः खोलिनेछ।
तीन चरणको समीक्षा प्रक्रियाअन्तर्गत रोब्लक्स ले डेभलपरहरूलाई आफ्नो पहिचान प्रमाणित गर्न, दुई चरणीय सुरक्षा (टू-स्टेप भेरिफकेशन) सक्षम गर्न र सक्रिय रोब्लक्स प्लस सदस्यता राख्न अनिवार्य गर्नेछ।
रोब्लक्स ले आगामी अप्रिल ३० देखि प्रयोगकर्तामुखी रोब्लक्स प्लस सदस्यता योजना पनि सुरु गर्ने जनाएको छ। यसको मासिक शुल्क ४.९९ डलर हुनेछ र यसमा इन-गेम सामग्री र अवतारमा छुटका साथै प्लेटफर्मका अतिरिक्त सुविधाहरू समावेश हुनेछन्।
प्रकाशित: १ बैशाख २०८३, मंगलवार