
काठमाडौं ।
निसान मोटरले कमजोर प्रदर्शन गरिरहेका मोडलहरू हटाउँदै आफ्नो विश्वव्यापी गाडी लाइनअप सरल बनाउने र दीर्घकालमा आफ्ना करिब ९० प्रतिशत सवारीमा एआई आधारित ड्राइभिङ प्रविधि प्रयोग गर्ने योजना बनाएको छ। कम्पनीले वर्षौंदेखिको कठिन अवस्थाबाट बाहिर निस्कन पुनर्जीवनको लक्ष्य राखेको छ।
जापानको चौथो ठूलो अटोमोबाइल निर्माता निसान मोटरले मंगलबार जारी वक्तव्यमा आफ्ना मोडल संख्या ५६ बाट घटाएर ४५ मा ल्याउने जनाएको छ। २०३० आर्थिक वर्षसम्म अमेरिकामा र चीनमा वार्षिक १० लाख गाडी बिक्री गर्ने लक्ष्य राखिएको छ भने जापानमा वार्षिक बिक्री ५ लाख ५० हजार पुर्याउने लक्ष्य छ।
सीईओ इभान एस्पिनोसाले रोग एसयूभीको हाइब्रिड संस्करण (जापानमा एक्स-ट्रेल) र जुक मोडलको इलेक्ट्रिक संस्करण पनि सार्वजनिक गरेका छन्।
उनले भने, “नाफामुखी र सानो तर बलियो लाइनअपमा आधारित हाम्रो पोर्टफोलियो रणनीति यसरी कार्यान्वयनमा आउँदैछ।” उनले थपे, निसान मोटरले आफ्ना मोडलहरूमा विभिन्न पावरट्रेन विकल्प विस्तार गर्ने र वृद्धिमा पुनः लगानी गर्नेछ।
टेलिकम्स डटकमका अनुसार निसान मोटरले गत वर्ष इभान एस्पिनोसाले सार्वजनिक गरेको पुनर्संरचना योजनाको प्रगति सम्बन्धी अद्यावधिक अर्को महिना पूर्ण वर्षको वित्तीय नतिजा सार्वजनिक गर्दा दिने जनाएको छ।
साथै, यस वर्षभित्र थप रणनीतिक योजना पनि घोषणा गर्नेछ। यस व्यापक सुधार योजनाअन्तर्गत कम्पनीले विश्वव्यापी उत्पादन संरचना घटाउँदै करिब १५ प्रतिशत कर्मचारी कटौती गरिरहेको छ।
इभान एस्पिनोसाले बिक्रीको हिसाबले टोयोटा, होण्डा र सुजुकीभन्दा पछि रहेको कम्पनीका लागि दीर्घकालीन दृष्टि स्पष्ट पार्ने सही समय आएको बताएका छन्।
निसान मोटरले चीनमा निर्यातलाई रणनीतिक आधार बनाउने योजना बनाएको छ। एन७ इलेक्ट्रिक सेडान ल्याटिन अमेरिका र आसियान क्षेत्रमा पठाइनेछ भने फ्रण्टियर प्रो पिकअप ट्रक मध्यपूर्वतर्फ निर्यात गरिनेछ। कम्पनीले अमेरिकामा स्थानीय उत्पादन दर हालको करिब ६० प्रतिशतबाट बढाएर ८० प्रतिशत पुर्याउने र इन्फिनिटी लक्जरी ब्रान्डलाई नयाँ मोडलमार्फत पुनर्जीवित गर्ने लक्ष्य राखेको छ।
जापानमा २०२८ आर्थिक वर्षदेखि सानो गाडी श्रृंखला ल्याइनेछ। साथै, यसै गर्मीमा सार्वजनिक हुने एलग्राण्ड मिनिभ्यानमा २०२७ आर्थिक वर्षको अन्त्यसम्म पूर्ण स्वचालित ड्राइभिङ क्षमता विकास गर्ने योजना छ। निसान मोटरले उबर टेक्नोलोजिज र बेलायती स्टार्टअप वेभसँग रोबोट्याक्सी विकासमा सहकार्य गरेको छ र २०२६ को अन्त्यसम्म टोकियोमा परीक्षण कार्यक्रम सुरु गर्ने लक्ष्य राखेको छ।
कम्पनीको सेयर मूल्य मध्याह्नसम्म ०.७ प्रतिशतले बढेको थियो जुन प्रमुख निक्केई २२५ सूचकांकको २.४ प्रतिशत वृद्धिभन्दा कम हो।
निसान मोटरले मे १३ मा पूर्ण वर्षको वित्तीय नतिजा सार्वजनिक गर्ने तालिका छ। फेब्रुअरीमा कम्पनीले आफ्नो वार्षिक घाटाको अनुमान घटाउँदै तेस्रो त्रैमासिकमा अप्रत्याशित नाफा सार्वजनिक गरेको थियो, जसले सुधारको संकेत देखाएको छ।
प्रकाशित: २ बैशाख २०८३, बुधबार