
काठमाडौं ।
नासाका अनुसार आर्टेमिस टू को हीट शिल्डमा समस्या देखिएको छ। तर यसमा चिन्ता गर्नुपर्ने अवस्था भने छैन। एजेन्सीले अन्तरिक्षयात्रीहरू सुरक्षित रहनेमा विश्वास व्यक्त गरेको छ।
आर्टेमिस टू का अन्तरिक्षयात्रीहरू चन्द्रमाको वरिपरि ऐतिहासिक यात्रा पूरा गरेर पृथ्वी फर्किने क्रममा छन्। उनीहरू करिब २५,००० माइल प्रतिघण्टा (४०,००० किमी/घण्टा) भन्दा बढी गतिमा पृथ्वीको वायुमण्डलमा प्रवेश गर्नेछन्, जसले उनीहरूलाई अन्तरिक्षयानभित्र यात्रा गर्ने सबैभन्दा छिटो मानव बनाउनेछ।
यो पुनःप्रवेश सबैभन्दा जोखिमपूर्ण चरण हुनेछ, किनकि ओरायन अन्तरिक्षयानको हीट शिल्ड अघिल्लो आर्टेमिस वनमा प्रयोग गरिएको जस्तै हो, जुन पुनःप्रवेशका क्रममा चर्किएको थियो। लण्डनको क्वीन मेरी यूनिभर्सिटी अफ लण्डनका भौतिकशास्त्र तथा डाटा विज्ञानका प्राध्यापक एड म्याकाउलेले भने, “पुनःप्रवेशका क्रममा क्याप्सुलले सूर्यको सतहको झन्डै आधा तापक्रम सहनुपर्ने हुन्छ। यस्तो अवस्थामा हीट शिल्ड अत्यावश्यक हुन्छ, नत्र क्याप्सुल पूरै पग्लिएर नष्ट हुन सक्छ।”
यो हीट शिल्ड एभोक्याट नामक पदार्थबाट बनेको हुन्छ, जुन पुनःप्रवेशका क्रममा विस्तारै घिस्रिँदै जानुपर्ने हो। तर २०२२ मा भएको आर्टेमिस वन मिशनमा ओरायन को हीट शिल्डबाट अपेक्षाभन्दा बढी भाग खसेको पाइयो। यस समस्यालाई समाधान गर्न नासा ले हीट शिल्ड परिवर्तन गरेको छैन। अनुसन्धानपछि एजेन्सीले उडान मार्ग परिवर्तन गरेर सुरक्षा सुनिश्चित गर्न सकिने निष्कर्ष निकालेको छ।
आर्टेमिस टू मा ओरायन ले अघिल्लो जस्तो “स्किप” पुनःप्रवेश गर्ने छैन। यसको सट्टा यो बढी ढल्किएको कोणबाट प्रवेश गर्नेछ र समस्या देखिएको वायुमण्डलीय क्षेत्रमा कम समय बिताउनेछ। नासा का प्रशासक ज्यारेड इसाकम्यानले यो उपाय दीर्घकालीन समाधान नभएको स्वीकार गर्दै भने, “हीट शिल्डले काम गर्नैपर्छ, अर्को विकल्प छैन।”
लाइभसाइन्सका अनुसार महत्वपूर्ण कुरा के भने आर्टेमिस वन मा हीट शिल्ड पूर्ण रूपमा असफल भएको थिएन। क्याप्सुलभित्रको तापक्रम सामान्य नै थियो र यदि त्यतिबेला अन्तरिक्षयात्रीहरू भएको भए पनि उनीहरू सुरक्षित रहने थिए। तर पुनःप्रवेशपछि हीट शिल्डमा अपेक्षाभन्दा बढी क्षति देखिएको थियो। नासा को निरीक्षण प्रतिवेदनले १०० भन्दा बढी स्थानमा सामग्री फरक तरिकाले घिस्रिएको जनाएको थियो।
पछि गरिएको अनुसन्धानले समस्या एभोक्याट भित्र बनेका ग्यास बाहिर ननिस्कनु रहेको पत्ता लगायो। ग्यास जम्मा भएर दबाब बढ्दा सामग्री चर्किने र केही भाग छुट्टिने समस्या आएको थियो।
आर्टेमिस वनमा प्रयोग गरिएको “स्किप रिएन्ट्री” विधिमा अन्तरिक्षयान वायुमण्डलमा छिर्दै बाहिर निस्किने र फेरि प्रवेश गर्ने प्रक्रिया अपनाइएको थियो। यस क्रममा एभोक्याटभित्र ताप ऊर्जा जम्मा भई ग्यास दबाब बढेको थियो, जसले हीट शिल्डमा क्षति पुर्यायो। आर्टेमिस टू मा भने यस्तो प्रक्रिया अपनाइने छैन, जसले ग्यास जम्ने र दबाब बढ्ने सम्भावना कम गर्ने अपेक्षा गरिएको छ।
यद्यपि केही विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्कि नकि आर्टेमिस टू मा प्रयोग गरिएको हीट शिल्डमा ग्यास बाहिर निस्कन सक्ने भाग छैन, जबकि आर्टेमिस वनमा करिब ६ प्रतिशत भाग यस्तो थियो। यसका बाबजुद नासा ले उडान मार्गमा गरिएको परिवर्तन पर्याप्त हुने विश्वास व्यक्त गरेको छ, र मिशनको अन्त्य प्रशान्त महासागरमा अवतरणसँगै हुने तय गरिएको छ।
प्रकाशित: २८ चैत्र २०८२, शनिबार