
काठमाडौं ।
नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक सुबिसु लिमिटेड र एसिया-प्रशान्त क्षेत्रमा आईपीभी६ प्रवर्द्धनका लागि समर्पित संस्था एपाक आइपीभी सिक्स काउन्सिलबीच एक महत्त्वपूर्ण सहकार्य सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा एपाक आईपीभी६ का तर्फबाट प्रा. एमेरिटस डा. सुरेश्वरन रामदास तथा सुबिसुका तर्फबाट सीईओ बिनय मोहन साउदले हस्ताक्षर गरेका हुन्।
चौथो एपाक आईपीभी६ काउन्सिल मीटको पहिलो दिन बिहिबार काठमाडौंको होटल र्याडिसनमा सम्पन्न यो सम्झौताले नेपालको डिजिटल पूर्वाधार विकासमा नयाँ ऐतिहासिक अध्याय थप्ने अपेक्षा गरिएको कम्पनीको दावी छ।
यो सहकार्य सम्झौताले दुई संस्थाबीच प्राविधिक ज्ञान आदानप्रदान, विशेषज्ञ आदानप्रदान, संयुक्त प्रकाशन र परस्पर प्रचार-प्रसारको ढोका खोलेको उल्लेख छ।
यस सम्झौता अन्तर्गत सुबिसु लिमिटेडले एपाक आईपीभी६ काउन्सिलको संस्थागत सदस्यताको रूपमा सहभागी हुने अवसर पनि पाउनेछ।
हस्ताक्षरकर्ता सुबिसु लिमिटेडका सीईओ बिनय मोहन साउदले भने, “नेपालमा यस्तो अन्तर्राष्ट्रिय स्तरको प्रविधि सम्मेलन आयोजना गरी एपाक आईपीभी६ काउन्सिलसँग औपचारिक साझेदारी गाँस्न पाउनु हाम्रा लागि गर्वको विषय हो। यो सम्झौताले नेपाललाई एसिया-प्रशान्त क्षेत्रको प्रविधि विमर्शको केन्द्रमा स्थापित गर्न सघाउनेछ।”
सम्झौताका मुख्य सहकार्य क्षेत्रहरूमा प्राविधिक ज्ञान, कागजात तथा उत्कृष्ट अभ्यासहरूको सूचना आदानप्रदान, एक-अर्काका प्रकाशनहरूमा लेखरचनाको योगदान, परस्पर अनुमतिसहित एक-अर्काको नाम र लोगोको प्रचारमा उपयोग तथा ज्ञानका लागि विशेषज्ञ आदानप्रदान रहेका छन्।
यो सम्झौता नेपालको ‘डिजिटल नेपाल’ अभियानलाई थप बल दिने तथा देशको इन्टरनेट पूर्वाधारलाई वैश्विक मानदण्डसँग तुलनीय बनाउने दिशामा एक सुदृढ कदम मानिएको छ। आईपीभी६ को अवलम्बन भविष्यको इन्टरनेट विस्तार, आईओटी र क्लाउड कम्प्युटिङका लागि अपरिहार्य मानिन्छ, र यस सम्झौताले नेपालका संस्थाहरूलाई यस दिशामा अघि बढ्न प्रेरणा दिने जारी विज्ञप्तीमा उल्लेख छ।
प्रकाशित: २७ चैत्र २०८२, शुक्रबार