
काठमाडौं ।
नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को माघ मसान्तबाट फागुन मसान्तसम्मको एक महिनाको अवधिमा मोबाइल बैंकिङमार्फत् भएको कारोबार रकम र सङ्ख्या उल्लेख्य रुपमा घटेको पाइएछ।
पुसबाट माघ मसान्तसम्म आइपुग्दा कारोबार सङ्ख्या घटेको थियो भने रकम उल्लेख्य बढेको थियो।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ फागुन मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार मोबाइल बैंकिङ कारोबार सङ्ख्या र रकममा उल्लेख्य गिरावट आएको पाइएको हो।
पुसमा मोबाइल बैंकिङमार्फत् गरिने कारोबार सङ्ख्या ६ करोड ८२ लाख ५६ हजार २६० रहेको थियो। पुस मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा ९ लाख १ हजार १९२ घटेर समग्रमा ६ करोड ७३ लाख ५५ हजार ६८ मा आइपुगेको थियो। माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा उक्त आँकडा ४८ लाख १४ हजार ७७४ ले घटेर समग्रमा ६ करोड २५ लाख ४० हजार २९४ मा आइपुगेको छ।
कारोबार रकम गत पुसमा ५ खर्ब ५७ अर्ब ४८ करोड ४० लाख थियो। पुस मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा १ अर्ब १ करोड ५० लाख रुपैयाँले बढेर समग्रमा ५ खर्ब ५८ अर्ब ४९ करोड ९० लाखमा पुगेको थियो।
माघ मसान्तबाट फागुन मसान्तसम्म आइपुग्दा उक्त आँकडा १७ अर्ब ७३ करोड ६० लाख रुपैयाँले घटेर समग्रमा ५ खर्ब ४० अर्ब ७६ करोड ३० लाखमा आइपुगेको प्रतिवेदनले देखाएको छ।
प्रकाशित: २४ चैत्र २०८२, मंगलवार