अब राष्ट्रिय योजना आयोगसँग सम्बन्धित सुझाव, प्रतिक्रिया तथा गुनासो क्यूआर कोडमार्फत् दिन सकिने

  • Technology Khabar | १९ चैत्र २०८२, बिहीबार
अब राष्ट्रिय योजना आयोगसँग सम्बन्धित सुझाव, प्रतिक्रिया तथा गुनासो क्यूआर कोडमार्फत् दिन सकिने

काठमाडौं ।

राष्ट्रिय योजना आयोगले सुझाव, प्रतिक्रिया तथा गुनासो संकलनलाई सहज बनाउन अनलाईनमा आधारित क्यूआर कोड सञ्चालनमा ल्याएको छ।

आयोगले आज आधिकारिक एक्स एकाउण्टमा एउटा क्यूआर कोड सहितको पोस्ट राख्दै यसबारे जानकारी दिएको हो।

पोस्टमा भनिएको छ, ‘राष्ट्रिय योजना आयोगबाट प्रदान गरिने सेवा प्रवाह तथा सञ्चालन गरिने क्रियाकलापका सम्बन्धमा सुझाव, प्रतिक्रिया तथा गुनासो संकलनलाई सहजीकरणका लागि अनलाईनमा आधारित क्यूआर कोड सञ्चालनमा ल्याइएको छ।तल दिइएको क्यूआर कोड स्क्यान गरी आफ्नो सुझाव, प्रतिक्रिया तथा गुनासो सम्प्रेषण गर्नुहुन अनुरोध छ।’

QR Code क्यूआर कोड
राष्ट्रिय योजना आयोगको क्यूआर कोड

यसबारे बुझ्दा आयोगका सहायक प्रवक्ता तथा सूचना एवं गुनासो सुन्ने‍ अधिकारी डा. दिवाकर लुईँटेलले टेक्नोलोजीखबरलाई भने, पहिले पनि गुनासो तथा सुझावहरुका लागि फीडब्याक पेजको व्यवस्था थियो, अझ सहज र छिटो तरिकाले आफ्ना सुझाव, जिज्ञासा तथा गुनासाहरु राख्न सकियोस् भनेर अहिले क्यूआर कोडको व्यवस्था गरिएको हो।

क्यूआर कोडमार्फत् कसरी सुझाव वा गुनासो दर्ता गर्ने?  

मोबाइल वा अन्य डिभाइसमा रहेका क्यूआर कोड स्क्यानरमार्फत् माथि राखिएको क्यूआर कोड स्क्यान गर्ने।

त्यसपछि एउटा पेज खुल्छ जसमा वेबसाइटको एड्रेस दिएको छ। उक्त एड्रेसमा क्लिक गरेपछि आयोगको आधिकारिक वेबसाइटमा रहेको गुनासो/सुझाव पृष्ठ खुल्छ।

उक्त पृष्ठमा गुनासो/सुझाव दिनेको पूरा नाम, सम्पर्क नम्बर, ईमेल ठेगाना, भौतिक ठेगाना र आफ्नो सन्देश लेख्नुपर्छ। पेजमा ‘प्रकार छान्नुहोस्’ भन्ने अप्शन पनि छ जसभित्र गुनासो वा सुझाव एउटामा रेजा लगाउने विकल्प दिइएको छ। तीमध्ये एकलाई छानेर आफ्ना विवरण र सन्देश ५०० शब्दमा बढाई लेखेपछि तलपट्टि रद्द गर्नुहोस् र पेश गर्नुहोस् मध्ये पेश गर्नुहोस्मा थिच्नुपर्छ।

यति गरेपछि तपाईँको प्रतिक्रिया पेश गरिएको छ’ भन्ने सन्देश आउँछ। यो सन्देश आएपछि आफ्ना सुझाव तथा प्रतिक्रिया आयोगको सम्बन्धित विभागमा पुगेको निश्चित हुन्छ।

प्रकाशित: १९ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार