

काठमाडौं ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण बन्द भएको सिंहदरबार गेटमा ई-पासको व्यवस्था पुन: सुचारु भएको छ।
२०८१ सालको असोज महिनामा सरकारले सिंहदरबारमा ई-पासको सुविधा औपचारिक रुपमा लागू गरेको थियो। त्यसअघि भौतिक पासको व्यवस्था हुने भए पनि २०८१ असोज ७ गते बसेको तत्कालीन सचिवस्तरीय बैठकले शहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा एक महिनाभित्र ई-पास प्रणाली कार्यन्वयनमा ल्याउन गृह मन्त्रालयलाई निर्देशन दिएपछि यो सेवा शुरु भएको थियो।
नागरिक एपमा उपलब्ध
यो सुविधा प्राप्त गर्न सबैलाई सहज होस् भन्ने हेतुले नागरिक एपको नयाँ अपडेटमा समावेश गर्ने आकलन गरिएको थियो। त्यतिबेला उपलब्ध नभए पनि हाल भने यो सेवा नागरिक एपमा समेत उपलब्ध गराइएको छ।
नागरिक एपमा अन्य सेवाहरुको आइकनसँगै ‘सिंहदरबार गेट पास’ को आइकन भेटिन्छ। त्यसमा क्लिक गरेपछि ‘रिक्वेस्ट गेटपास’ भन्ने पेज खुल्छ। त्यसमा क्लिक गरेपछि जानुपर्ने कार्यालयको नाम ड्रपडाउन मेनुबाट छान्नुपर्छ। त्यसपछि ठिक तल भेट्नुपर्ने व्यक्तितको नाम र भेट्नुपर्ने उद्देश्य आफैंले लेखी भरेर ‘सबमिट’ मा थिच्नुपर्छ।
त्यसपछि सम्बन्धित कार्यालयबाट अप्रुभल कुर्नुपर्छ। अप्रुभ भएको पक्का गरेपछि सिंहदरबार गेटमा रहेको क्यूआर कोड स्क्यान गरेर मोबाइलमै गेटपास प्राप्त गर्न सकिन्छ। यसका लागि सिंहदरबार गेटमा क्यूआर कोड राखिएको छ।
नागरिक एपबाहेक यसका लागि ‘सिंहदरबार गेटपास’ वेबसाइटमा गएर अकाउन्ट बनाई युजर आइडी र पासवर्ड राखेर अनलाइनबाट अनुरोध गर्ने तथा गेटपास पाउन आधारभूत विवरण भर्नुपर्ने प्रणाली पनि शुरुदेखि नै कार्यान्वयनमा रहँदै आएको छ।
ई-पास पुन: सुचारु भएपछि अब आफ्नै मोबाइल वा अन्य डिभाइसमा पास देखाउन मिल्ने हुँदा सिंहदरबार आउजाउ गरिरहनुपर्ने व्यक्तिहरुलाई थप सहज हुने अपेक्षा गरिएको छ।
वेबसाइटमार्फत् कसरी लिने ई-पास?
सिंहदरबार गेटपासको वेबसाइट लगइन गरेपछि एउटा डाइलग बक्स खुल्छ जसमा प्रयोगकर्ता ID तथा पासवर्ड राख्ने ठाउँ देखिन्छ। यदि तपाईँले पहिले नै प्रयोगकर्ता ID बनाउनु भएको छ भने उक्त ID र पासवर्ड राख्नुपर्छ।

यदि पहिलोपटक यो वेबसाइटमा जानुभएको छ भने तलपट्टि नयाँ एकाउन्ट बनाउन सुझाव दिइएको हुन्छ त्यसमा थिचेपछि नाम ठेगानासहितको विस्तृत विवरण भर्ने अर्को ठूलो डायलग बक्स खुल्छ।
उक्त विवरण पूरा भरेर ID र पासवर्ड क्रियट भएपछि उक्त ID र पासवर्ड राखेर लग इन गरेपछि सिंहदरबार गेट पासको होमपेज खुल्छ।
यसमा ID भन्नाले आफ्ना विवरण भर्ने क्रममा हामीले औपचारिक कागजात भर्नुपर्ने हुन्छ जसमा नागरिकता, राष्ट्रिय परिचय पत्र, पासपोर्ट लगायतको अप्शन दिइएको हुन्छ। तीमध्ये एउटा छानेर त्यसको नम्बर मात्र राखे पुग्छ फोटो राख्नु पर्दैन। उक्त नम्बर नै तपाईँलाई लग इन गर्दा चाहिने ID का रुपमा दिइन्छ। तर पासवर्ड भने आफैंले क्रियट गर्नुपर्ने हुन्छ।
होमपेजको मुख्य पृष्ठमा कुल पास, कुल स्वीकृत पास, कुल अस्वीकृत पास, कुल ३ महिना पास, एक महिने र ३ महिने पासको विवरण, उपलब्धता र इतिहासलगायतका जानकारी देख्न सकिन्छ।

पृष्ठको बायाँपट्टि ड्याशबोर्ड, कार्यालय भ्रमण अनुरोध, अनुरोध फाराम, अनुरोध इतिहास र सेटिङहरु नाम गरेका बटनहरु दिइएको हुन्छ।
पासका लागि अनुरोध फाराममा क्लिक गर्नुपर्छ त्यसपछि एउटा फाराम खुल्छ जसमा आफूले जान चाहेको कार्यालयको नाम, समय र सम्पर्क व्यक्तिको नाम भर्नुपर्छ।
कार्यालयको नाम छान्नका लागि ‘ड्रप डाउन’ लिस्टमा सिंहदरबारभित्र रहेका सबै कार्यालयको पूरा नाम दिइएको हुन्छ त्यसमध्ये आफू जान चाहेको कार्यालय छान्न सकिन्छ।

त्यसबाहेक सवारी साधन भए/नभएको र थप व्यक्ति थप्न चाहने नचाहने प्रश्नको छ वा छैन/हो वा होइनमध्ये एउटा छान्नु पर्छ।
सबैभन्दा महत्वपूर्ण र छुटाउनै नहुने कुरा भनेको ‘भेट्नुको उद्देश्य स्पष्ट पार्नुपर्ने’ हुन्छ अन्यथा पास स्वीकृत हुँदैन।
भेट्नुको उद्देश्य लेख्नका लागि एउटा बक्स दिइएको हुन्छ जसमा आफ्नो उद्देश्य आफैंले मिलाएर लेख्न सकिन्छ। यसमा छ वा छैन/हो वा होइन भन्ने उत्तर दिनुपर्दैन। यो सबै भरेपछि केही छुटपुट भएको छ भने ‘पछाडि जाने’ र सबै ठिक छ भने ‘बुझाउनुहोस्’ विकल्प दिइन्छ।
यो फाराम बुझाएपछि अर्को पृष्ठ खुल्छ जसमा जाने मन्त्रालय प्रस्तावित मिति प्रस्तावित समय आफ्नो सवारी साधन छ भनेर भरेको भए त्यसको नम्बरसहितको विवरण र ‘स्वीकृतिको अवस्था’ देखिन्छ जुन सम्बन्धित कार्यालयबाट स्वीकृत नहुञ्जेल ‘पेन्डिङ स्वीकृति’ का रुपमा देखिन्छ।

सबैभन्दा बायाँपट्टि आँखाको आईकन हुन्छ जसमा कर्सर लैजाँदा ‘भ्यू डिटेल’ देखिन्छ र क्लिक गरेपछि आफूले भरेका मुख्य विवरण एउटा कार्डजस्तो पेजमा एकमुष्ट देखिन्छ।
त्यसबाहेक तलपट्टि भेट्न जान खोजेको प्रस्तावित मिति भर्नुपर्छ जसमा क्लिक गर्दा क्यालेन्डर देखिन्छ र त्यसबाटै छानेर मिति राख्न सकिन्छ। त्यसमुनि आफ्नो पासहरुको स्थिति हेर्ने सूची छ जसमा सबै, स्वीकृत, स्वीकृत गरिएको छैन र पेन्डिङ भन्ने अप्शनहरु दिइएको हुन्छ त्यसमध्ये कुनैमा पनि क्लिक गरेर हेर्न सकिन्छ।
सबैभन्दा तल पछाडि रिसेट र बुझाउनुहोस् भन्ने अप्शन दिइएको हुन्छ। बुझाउनुहोस् मा क्लिक गरेपछि उक्त मितिमा पासको कुनै रेकर्ड भए नभएको देख्न सकिन्छ।
प्रकाशित: १८ चैत्र २०८२, बुधबार