एटीएण्डटीद्वारा ‘अनलिमिटेड कनेक्टिभिटी’ दिने दावीसहितको नयाँ योजना सार्वजनिक

  • Technology Khabar | १९ चैत्र २०८२, बिहीबार
एटीएण्डटीद्वारा ‘अनलिमिटेड कनेक्टिभिटी’ दिने दावीसहितको नयाँ योजना सार्वजनिक

काठमाडौं ।

अमेरिकी अपरेटर एटीएण्डटीले एटीएण्डटीवनकनेक्ट नामको नयाँ सेवा सार्वजनिक गरेको छ, जसले एउटै सदस्यतामा ‘जति आवश्यक उपकरण भए पनि’ घरको इन्टरनेट र वायरलेस सेवा दिने दाबी गरेको छ।

एटीएण्डटीका अनुसार यो नयाँ योजना “पहिलो पटकको यस्तो एकल सदस्यता” हो, जसले घरमा र बाहिर प्रयोग हुने सबै वेयरएबल, स्मार्टफोन र ट्याब्लेटजस्ता उपकरणका लागि अनलिमिटेड कनेक्टिभिटी उपलब्ध गराउँछ। प्रयोगकर्ताले कर र शुल्कसमेत समेटिएको एउटै मूल्यमा आफूले चाहेजति उपकरणमा इन्टरनेट प्रयोग गर्न सक्ने बताइएको छ।

कम्पनीका अनुसार यो सेवा प्रयोगकर्तालाई कनेक्टिभिटी छान्न र किन्न छिटो र सजिलो बनाउने उद्देश्यले ल्याइएको हो, जसले “घरको इन्टरनेट र वायरलेस सेवाका लागि धेरै बिल सम्हाल्नुपर्ने झन्झट” समाधान गर्नेछ।

टेलिकम्स डटकमका अनुसार कम्पनीले ७२ प्रतिशत ग्राहकले आफ्ना सबै उपकरणका लागि एउटै निश्चित मूल्यमा एकल बिल चाहन्छन् भन्ने दावी गरेको छ। यो तथ्य कुनै सर्वेक्षणमा आधारित भएको भए पनि त्यसको विवरण दिइएको छैन।

साथै एटीएण्डटी फाइबर र एटीएण्डटी वायरलेस दुवै सेवा लिने ग्राहक बढी सन्तुष्ट हुने र लामो समयसम्म कम्पनीसँगै रहने पनि कम्पनीको दाबी छ। नयाँ वनकनेक्ट योजना “त्यही प्रवृत्तिलाई अगाडि बढाउने” बताइएको छ।

कम्पनीले भनेको छ, “एटीएण्डटीले अमेरिकाको सबैभन्दा ठूलो वायरलेस नेटवर्क र सबैभन्दा ठूलो तथा उत्कृष्ट फाइबर नेटवर्क सञ्चालन गर्छ। यी दुवैलाई सँगै प्रयोग गर्दा हामीले अतुलनीय कनेक्टिभिटी अनुभव दिन्छौं, जसले मानिसलाई जहाँ भए पनि र जुनसुकै उपकरणमा पनि कल गर्न, स्ट्रिम गर्न, स्क्रोल गर्न र सेयर गर्न आवश्यक गति र भरपर्दोपन दिन्छ।”

एटीएण्डटीका मास मार्केट्सका कार्यकारी उपाध्यक्ष तथा महाप्रबन्धक जेनिफर रोबर्टसनले भनिन्, “इन्टरनेट एउटै हो भने किन दुई पटक किन्ने? एटीएण्डटीवनकनेक्ट हाम्रो ग्राहक-केन्द्रित दृष्टिकोणको व्यवहारिक उदाहरण हो। तीनवटा सजिला चरणमार्फत हामी घरमा र बाहिर दुबै ठाउँमा सहज र भरपर्दो कनेक्टिभिटी अनुभव दिन्छौं।”

यस वर्ष सुरुमा सार्वजनिक गरिएको चौथो त्रैमासिक र वार्षिक विवरणमा पनि ‘कनभर्जेन्स’ कम्पनीको मुख्य विषय बनेको थियो। एटीएण्डटीले सन् २०२५ मा “दशककै उत्कृष्ट उपभोक्ता ब्रडब्यान्ड ग्राहक वृद्धि” भएको जनाएको थियो र आफ्नो कनभर्जेन्स दर बढेकोमा जोड दिएको थियो। कम्पनीका ४२ प्रतिशत फाइबर ग्राहकले पोस्टपेड मोबाइल सेवा पनि लिएका छन्, जुन अघिल्लो त्रैमासिकभन्दा एक प्रतिशतले बढी हो।

त्यसको अर्को महिनामा कम्पनीले ल्युमेन टेक्नोलोजिजको बृहत् बजार फाइबर व्यवसायको अधिकांश हिस्सा ५.७५ अर्ब डलर नगदमा खरिद गर्ने सम्झौता सम्पन्न गरेको थियो। कम्पनीले फाइबर र फाइभजी सेवा सँगै उपलब्ध गराउने क्षमताले “उच्च मूल्यका एकीकृत ग्राहक आधार बढाउन मद्दत गर्ने” अपेक्षा गरेको जनाएको थियो।

यसैबीच, गत महिना कम्पनीले अमिगो जुनियर फोन नामको फोन पनि सार्वजनिक गरेको थियो, जसलाई “बालबालिकामैत्री स्मार्टफोन” भनेर वर्णन गरिएको छ। धेरै उपकरण बालबालिकालाई ध्यानमा राखेर नबनाइएका कारण सामसङसँग मिलेर सुरक्षा सुविधामा जोड दिँदै यो फोन तयार गरिएको कम्पनीले जनाएको छ। यसमा अभिभावकले आफ्नै फोनबाट बालबालिकाको स्क्रिन समय, एप्स र सेटिङ नियन्त्रण गर्न मिल्ने एप समावेश गरिएको छ।

यसमा लोकेसन सेयरिङ, ‘सेफ जोन’ र विद्यालय समयमा ध्यान भंग हुन नदिन समय तालिका मिलाउने जस्ता सुविधा छन्। साथै एटीएण्डटी अमिगो जुनियर वाच २ पनि सँगै सार्वजनिक गरिएको छ, जसमा म्यासेजिङ, खेल र ‘रिवार्ड’ जस्ता सुविधा दिइएको छ।

प्रकाशित: १९ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार